हुम्लामा हेलिकप्टरद्धारा सुत्केरी महिलाको उद्धार

सुर्खेत। हुम्लामा हेलिकप्टरद्धारा एक सुत्केरी महिलाको उद्धार गरिएको छ । हुम्लाको दक्षिण भेगमा रहेको ताँजकोट गाउँपालिका–४ ढकालबाडा गाउँकी ४३ वर्षिया बाँचुकला जैसी(ढकाल)को नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको छ ।

९ दिनदेखि हल्का रगत बग्दै गर्ने समस्या भएपनि दुई दिनदेखि रक्तश्राव बढ्दै गएपछि शनिवार बेलुका पाँच बजे गाउँपालिका एम्बुलेन्समार्फत उद्धार गरी मैला स्वास्थ्य चौकीमा पुर्याइएको थियो ।

उच्च रक्तश्रावले थलिएर मैला स्वास्थ्यचौकीमा भर्ना भएकी ढकाल(जैसी)लाई स्वास्थ्यकर्मीले चेकजाँच गरी रातभरको अथक प्रयासपछि आइतबार विहान (आज) सकुशल बच्चा जन्माएर साल समेत निकालिएको स्वास्थ्य शाखा प्रमुख धनराज ढकालले बताए ।

प्रमुख ढकालका अनुसार, बच्चा जन्माएपनि अत्यधिक रक्तश्राव कारण स्वास्थ्यचौकीमा उपचार सम्भव नभएपछि आजै नेपाली सेनाको हेलिकप्टरमार्फत प्रदेश अस्पताल सुर्खेत उद्धार गरिएको प्रमुख ढकालले बताए ।

शरीरबाट अत्यधिक रक्तस्रावका कारण अवस्था गम्भीर भएपछि गाउँपालिका अध्यक्ष लालकेश जैसी, स्वास्थ्य सेवा कार्यालय हुम्ला, जिल्ला प्रशासन कार्यालय, नेपाल आर्मी लगायतका स्वास्थ्यकर्मीको अथक प्रयास पछि उद्धार सफल भएको उनले बताए ।

रक्तश्रावले थलिएकी ढकालको राष्ट्रपछि महिला उत्थान कार्यक्रममार्फत उद्धार गरिएको हो । उच्च रक्तस्रावले थलिएकी ढकालको प्रदेश अस्पताल सुर्खेतमा पुर्याएसँगै अहिले उपचार भइरहेको उनको श्रीमान हरिप्रसाद जैसी(ढकाल)ले जानकारी दिएको शाखा प्रमुख ढकालले बताए ।

राष्ट्रपति महिला उत्थान कार्यक्रमको हवाई उद्धार सेवा सुरु भएपछि दुर्गम हुम्लाका महिलाले राहत पाउनुका साथै ज्यान जोगिदै आएको छ । जनशक्ति र उपकरणको व्यवस्था नहुँदा दक्षिणी क्षेत्रका सर्केगार्ड, चंखेली, अदानचुली र ताँजाकोट गाउँपालिकामा व्यथा लागेका गर्भवतीका लागि यो कार्यक्रमले वरदान सावित भएको छ ।

तपाईको प्रतिक्रिया