अत्यावश्यकबाहेक अन्य भेटघाटका लागि नआइदिन अर्थ मन्त्रालयको आग्रह

काठमाडौं। अर्थ मन्त्रालयले अत्यावश्यक काम बाहेक अन्य भेटघाटका लागि नआइदिन आग्रह गरेको छ । आउँदो आर्थिक वर्ष २०८१ र ०८२ का निम्ति बजेट मस्यौदा लेखनको काम सुरु भएकाले अत्यावश्यकबाहेक भेटघाटका लागि नआइदिन आग्रह हो । मन्त्रीसहित सबै कर्मचारी बजेट निर्माणमा केन्द्रित हुनुपर्ने भएकाले भेटघाटको स्वरूपमा केही परिवर्तन गरिएको मन्त्रालयले जनाएको छ ।

गएको शुक्रबार अर्थमन्त्री वर्षमान पुनले सहसचिव धनिराम शर्माको नेतृत्वमा बजेट मस्यौदा लेखन समिति गठन गरेका थिए । समितिमा सहसचिचवहरू रितेशकुमार शाक्य, महेश आचार्य, रामप्रसाद आचार्य, ईश्वरी अर्याल र पार्वती शर्मा सदस्य छन् ।

समितिले गठन भएको भोलिपल्टै शनिबार अर्थमन्त्री पुनबाट आवश्यक निर्देशन लिएर बजेट लेखनको काम थालिसकेको छ । मन्त्रालयका प्रवक्ता एवं सहसचिव उत्तरकुमार खत्रीले बजेट निर्माणसँग सम्बन्धित सरोकारवालालाई पनि पहिल्यै समय लिएर मात्र आइदिन आग्रह गरेका छन् ।

उनेले भने “बजेट निर्माणको समयमा बिहानदेखि राति अबेरसम्म कर्मचारीले काम गर्नुपर्ने हुन्छ । अनावश्यक भीडभाड हुँदा काम प्रभावित हुन्छ,” उनले भने, “तर, सबै भेटघाट बन्द गरिएको होइन । भेट्नैपर्ने सरोकारवालाहरूलाई पहिल्यै समय लिएर मात्र आइदिन आग्रह गर्न चाहन्छु ।”

खत्रीले विगतमा पनि बजेट निर्माणको समयमा यस्तो अभ्यास हुने गरेको स्पष्ट गरे ।

०७२ मा जारी नेपालको संविधानमा हरेक वर्ष जेठ १५ गते गणतन्त्र दिवसका दिन पारेर अर्थमन्त्रीले संघीय संसद्मा आउँदो आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने बाध्यकारी व्यवस्था छ ।

सरकारले बजेट निर्माणको कार्यतालिकामा हेरफेर गर्दै यो वर्ष बजेटका सिद्धान्त र प्राथमिकता संसद्मा पेस गरिसकेको छ । तत्कालीन अर्थमन्त्री डा. प्रकाशशरण महतले फागुन १४ गते प्रतिनिधिसभा र राष्ट्रियसभामा आर्थिक वर्ष २०८१र८२ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेका थिए । वर्तमान अर्थमन्त्री पुनले सोही प्रस्तावमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिएसँगै दुवै सदनले बजेटका सिद्धान्त र प्राथमिकता पारित गरिसकेका छन् ।

तपाईको प्रतिक्रिया