राष्ट्रिय स्वतन्त्र पार्टी जनताको ईन्द्रेणी – संयोजक थानी

सुर्खेत । राष्ट्रिय स्वतन्त्र पार्टीका कर्णाली प्रदेश संयोजक खम्बराज थानीले रास्वपालाई जनताको ईन्द्रेणी बनाउने बताएका छन् । नवनिर्वाचित प्रदेश समितिसँगको ‘परिचयात्मक तथा सुझाव संकलन’का लागि मंगलबार वीरेन्द्रनगर सुर्खेतमा आयोजित ‘पत्रकार भेटघाट’कार्यक्रममा बोल्दै संयोजक थानीले रास्वपाले कसैको आलोचनामा समय नखर्चिने बताए । रास्वपा जनतामा सुशासन र विकास चाहान्छ,” उनले भने, “हामीले यसलाई जनताको ईन्द्रेणी बनाउने लक्ष्य राखेका छौं ।

समयलाई चिन्न नसक्दा पाखा लागिने जनाउँदै संयोजक थामीले रास्वपाको मूल सिद्धान्त संविधानवाद भएको जिकिर गरे । ठूलै सिद्धान्त अंगालेकाहरुको हालत यो देशमै देखिएको व्यंग्य गर्दै उहाँले आफ्नो पार्टीमा घुसखोर, शुद्धखोर, गुण्डा, ठेकेदार, दलाल, विचौलियाहरुलाई प्रवेश नदिने बताए ।

उनले पार्टीको तीन महिने कर्णाली प्रदेश विशेष अभियान तथा देशव्यापी संगठन विस्तारमा रास्वपा हिडिरहेको जनाए । रास्वपाका रुकुमपश्चिम संयोजक मानबहादुर शाहीले राजनीति पेशा नभई समाज सेवा हो भन्ने भाष्य संस्थागत गर्ने जिकिर गरे । अहिले दलहरुले राजनीतिककर्मी जन्माएको टिप्पणी गर्दै उनले रास्वपा समाजको नेता जन्माउने अभियानमा जुटेको बताए ।

रास्वपाकै अर्का सदस्य पुस्तक चन्दले मुलुकका ठूला पार्टीहरुबाटै रास्वपामा आउने लहर चलेको बताए । वैकल्पिक शक्तिका रुपमा उदायको रास्वपा नवयुवाहरुको आकर्षण केन्द्र बन्दै गएको बताउनुभएका चन्दले पार्टीले विशेषगरी कर्णाली प्रदेशलाई प्राथमिकता राखेर अभियान अगाडि बढाएको जनाए ।

तपाईको प्रतिक्रिया