रसियाद्धारा युक्रेनमा आक्रमण हुदाँ चार जनाको मृत्यु

काठमाडौं। रसियाले बिहीबार राति गरेको हवाई हमलामा युक्रेनको दोस्रो ठूलो शहर खार्किबमा चार जनाको मृत्यु भएको छ भने अरु ११ जना घाइते भएका छन् ।

खार्किबका मेयर आइगोर टेरेखोभले एउटा आवाशीय भवनमा उद्धार कार्यमा खटिएका उद्धारकर्मीमाथि लक्षित गरी रसियाले दोस्रो आक्रमण गरेको र त्यसबाट तीन जना उद्धारकर्मीको मृत्यु भएको जनाएका छन् ।

उनले अर्को एक आवासीय भवनमा रसियाले गरेको ड्रोन आक्रमणबाट अर्का एक व्यक्तिको मृत्यु भएको बताए । प्रहरीले ड्रोन आक्रमणबाट मारिने व्यक्ति ६८ वर्षीया एक वृद्धा रहेको जनाएको छ ।

खार्किबका गभर्नर ओलेग सिनेगुबोभले रसियाले बिहीबार राति कम्तीमा १५ वटा ड्रोनबाट आक्रमण गरेको भए पनि केही ड्रोन खसालिएको दाबी गरे ।

खार्किब समेत युक्रेनका अरु शहरहरुलाई लक्षित गरी रसियाले दिनहुँ क्षेप्यास्त्र र ड्रोनमार्फत आक्रमण गरिरहेको छ । युक्रेनी अधिकारीहरुले आफ्ना समर्थक राष्ट्रहरुसमक्ष हवाई प्रतिरक्षा प्रणाली उपलब्ध गराउन माग गरिरहेका छन् । रसियाली आक्रमणबाट जोगिन उनीहरुले खासगरी अमेरिकी प्याट्रिअट सिस्टम प्रदान गर्न अनुरोध गरेका छन् ।

तपाईको प्रतिक्रिया