आउँदो वैशाखमा हुने उपननिर्वाचनको अन्तिम मतदाता नामावली प्रकाशन

काठमाडौं। निर्वाचन आयोगले आउँदो वैशाख १५ गते हुने उपनिर्वाचनका लागि अन्तिम मतदाता नामावली प्रकाशन गरेको छ । बिहीबार बसेको बैठकबाट अन्तिम मतदाता नामावली स्वीकृति गरी आयोगको वेबसाइटमा प्रकाशन गरिएको हो ।

वैशाख १५ गते प्रतिनिधिसभातर्फ इलाम क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनका निम्ति एक लाख १५ हजार ८८९ मतदाता कायम भएका छन् । प्रदेशसभातर्फ बझाङ १(क)मा हुने उपनिर्वाचनका निम्ति ६१ हजार ७४८ मतदाता कायम भएका छन् । आयोगले उपनिर्वाचनलक्षित गत फागुन २९ देखि चैत ५ गतेसम्म देशभर मतदाता नामावली संकलन गरेको थियो ।

आयोगका अनुसार हाल देशभर एक करोड ८० लाख ८८ हजार ९८३ मतदाता छन् । ८८ लाख ८६ हजार २२६ महिला र ९२ लाख दुई हजार ५६९ पुरुष अन्तिम मतदाता नामावलीमा समावेश भएको आयोगले जनाएको छ ।

विवरणअनुसार सबैभन्दा बढी मतदाता मोरङमा छन् । त्यहाँ सात लाख ३९ हजार ३९० मतदाता छन् । तीन लाख ६२ हजार ९७३ महिला र तीन लाख ७६ हजार ४११ पुरुष मतदाता छन् । सबैभन्दा कम मतदाता मनाङमा छन् । महिला तीन हजार ५३० र पुरुष तीन हजार ३१९ गरी जम्मा ६ हजार ८४९ मतदाता रहेको आयोगका सहसचिव इवम् प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

तपाईको प्रतिक्रिया