नयाँ सरकार गठनमा समस्या

चैत २७ गतेसम्मै मुख्यमन्त्री पदमा बस्ने राजकुमारको योजना

सुर्खेत।  नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश संसदीय दलका नेता राजकुमार शर्माले मुख्यमन्त्री पदबाट चैत २१ गते राजीनामा दिएपनि नयाँ सरकार गठनमा भने अड्को थापेकाे देखिन्छ । सत्ता गठबन्धनमा केन्द्रमा भएको सहमतिअनुसार शर्माको राजीनामा पछि अबको मुख्यमन्त्री नेकपा एमाले संसदीय दलका नेता यामलाल कँडेल बन्नुपर्ने भएपनि शर्माकै कारण सकस भइरहेको छ ।

प्रदेश प्रमुख तिलक परियारले चैत २७ गतेसम्मको समय दिएर बहुमतको सरकार गठन गर्न आह्वान गरेका छन् । तर, माओवादीले ‘हाइ डिमाण्ड’ गरिरहेको समय नदिएर विभिन्न कार्यक्रममा हिडेको एमालेका नेताहरू बताउँछन् । माओवादीले सभामुख र चार मन्त्रालय रोजेर नै लिन पाउनुपर्ने माग गरेको छ, त्यो पनि मुख्यमन्त्री नियुक्त भन्दा पहिला नै सम्बोधन हुनुपर्ने राजकुमारको अडान छ ।

अहिले कर्णाली प्रदेशमा सभामुख एमालेकी नन्दा गुरुङ छन् । मुख्यमन्त्री पद छाडेसँगै माओवादीले सभामुख पद आफूले पाउनुपर्ने कुरा उठाइरहेको छ । एमालले भने पहिला सानो आकारमा भएपनि सरकार गठन गर्ने र त्यसपछि भागबण्डाको विषय टुङ्गोमा पु¥याउने पक्षमा छ । जुन कुरा माओवादीलाई चित्त बुझेको देखिन्न ।

माओवादीले सभामुखसहित चार मन्त्रालयको भागबण्डा पहिला प्याकेजमै गरौँ भनेको तर एमालेले नमानेको माओबादीका नेता बताउँछन् । साथै माओवादीले सरकार संचालनको संयन्त्र बनाउन लिखित सहमति गर्नुपर्ने माग राखेको भनिएपनी सरकार चैत २७ सम्म नछोड्ने राजकुमारको अडान देखिन्छ ।

बिहीबार दिउँसो कँडेल र शर्माबिच प्रदेश सभामा वाट टु वान वार्ता समेत भयो । तर, दुई मुख्य नेताहरूबिच नै सहमति जुटेन । लगत्तै शर्माले आफ्नो संसदीय दलको बैठक मुख्यमन्त्री निवासमा राखे । उक्त बैठकले सरकारको विषयमा निर्णय गर्ने अधिकार दल नेतालाई दिने निर्णय सहित टुङ्ग्यायो । तर हिजोआज शर्मा एमालेलाई समय नदिएर विभिन्न कार्यक्रममा भाषण गरिरहेका छन् । बजेट बनाउनेबेला पदका लागि मरिहत्ते गर्दा जनाताप्रति निरासा बढ्दै गएको छ ।

तपाईको प्रतिक्रिया