कांग्रेस सुर्खेतको प्रशिक्षण कार्यक्रम गुर्भाकोटमा, जिल्लामै रहेका थानिलाई भने बाईपास

सुर्खेत । सुर्खेत जिल्लाको मात्रै नभई समग्र कर्णालीको कांग्रेस पार्टी राजनीतिमा प्रभाव जमाउने नेताहरु हुन् पूर्णबहादुर खड्का र हृदयराम थानी । यी दुई नेताद्वयको पार्टी केन्द्रमा समेत राम्रै प्रभाव छ । खड्का हाल कांग्रेस पार्टी उपसभापति छन् भने थानी केन्द्रीय सदस्य भइसकेका नेता हुन् ।

पूर्णबहादुर खड्का र हृदयराम थानी । 

तर पछिल्लो समय कांग्रेसको हाइकमाण्डमा रहेका नेता खड्काको बर्चश्वले सुर्खेतका कांग्रेस नेता तथा कार्यकर्ताहरु प्रष्ट दुई खेमामा विभाजित हुँदै गएका छन् । यसको उदाहरण शनिबार कांग्रेस जिल्ला कार्यसमितिले आयोजना गरेको कार्यक्रमलाई लिन सकिन्छ ।

केन्द्रीय सदस्यसमेत रहिसकेका थानीलाई पार्टीको जिल्ला कार्यसमितिले गुर्भाकोट नगरपालिकामा आयोजना गरेको प्रशिक्षण तथा अभिमुखिकरण कार्यक्रममा थाहै नदिइ खड्का पक्षले एकलौटी गरेको आरोप थानी पक्षले लगाएको छ ।उक्त कार्यक्रममा सहभागी हुन काठमाण्डौंमा रहेका उपसभापति खड्का सुर्खेत पुग्दा सुर्खेतमै रहेका थानीलाई खबर नै नगरी बाइपास गर्न खोजिएको थानी समूहको आरोप छ । कर्णालीमा खड्काले पार्टी संस्थापन समूह पार्टी सभापति शेरबहादुर देउवा पक्षको नेतृत्व गरिरहदा थानीले संस्थापन इतर समूह शेखर कोइराला पक्षको नेतृत्व गर्दै आएका छन् ।

थानी पक्ष खड्कासँग रुष्ट भएको यो पहिलो पटक भने होइन । नेता थानीले पछिल्लो पटक संघीय संसददेखि सार्वजनिक कार्यक्रममै खड्काको खरो प्रतिवाद गर्दै आएका छन् । यी दुई नेता संघीय संसदमा सुर्खेतबाट निर्वाचित भएका थिए । खड्का सुर्खेत क्षेत्र नम्बर १ र थानी क्षेत्र नम्बर २ बाट निर्वाचित भएका हुन् । खड्काले शक्तिको आडमा सुर्खेत क्षेत्र नम्बर २ लाई बाइपास गर्न खोजेको भन्दै थानीले खड्का सहभागी कार्यक्रममै उनको प्रतिवाद गर्दै आएका छन् ।

थानीले सुर्खेत विमानस्थल, भेरी बबई डाइभर्सन सिंचाई आयोजना लगायतका महत्वपूर्ण कार्यालयहरु आफ्नो क्षेत्रमा सार्न खोजेको र सारेको भन्दै खड्काको चर्को विरोध गर्दै आएका छन् । पार्टीको जिल्लास्तरिय कार्यक्रममा केन्द्रीय जिम्मेवारीमा रहिसकेको नेतालाई नबोलाइनुले कांग्रेसलाई निजी कम्पनीका रुपमा परिभाषित गर्दै निषेधको राजनीत गर्न खोजिएको थानीले नेपाली रैबारलाई संक्षिप्त प्रतिक्रिया दिए । यता थानीलाई कार्यक्रमा नबोलाईएको विषयमा आफू जानकार नरहेको खड्का निकटका एक नेताले दावी गरे । खड्का पक्षले सुर्खेतमा हुने हरेक कार्यक्रममा थानी पक्षलाई निषेध गर्दै आएको नाम नबताउने सर्तमा एक नेताले बताए ।

पार्टीको १३ औं महाधिवेशनसम्म कांग्रेस सुर्खेतको नेतृत्वमा थानी समूहको बर्चश्व थियो । उती बेला पार्टी केन्द्रमा बलियो पकड बनाएका खड्का गृह जिल्लामा भने कमजोर थिए । १३ औं महाधिवेशनमा सुर्खेत मात्र होइन कर्णाली प्रदेशका १० मध्ये हुम्लाबाहेक ९ जिल्लाका सभापति थानी समूहबाट निर्वाचित भएका थिए ।

पार्टी केन्द्रमा कोइराला परिवारको गुट बलियो रहेको बेला त्यही खेमाका थानी सुर्खेतमा मात्र नभई कर्णालीभरमा बलिया थिए । कांग्रेस पार्टी केन्द्रमा जो बलियो हुन्छ त्यसले जिल्लाका नेतालाई पेलेर लैजाने नीति कांग्रेसमा पुरानै रहेको कांग्रेस कै नेताहरु बताउँछन ।

१४ औं महाधिवेशनपछि भने सुर्खेतमा वडादेखि जिल्लासम्म खड्का गुटको बर्चश्व कायम भएको थियो । पार्टीको केन्द्रीय उपसभापतिमा खड्का विजयी हुँदै गर्दा कर्णाली भूगोलबाट केन्द्रीय सदस्य लडेका थानी जम्मा एक मतले हारे । त्यो हारमा खड्काको मुख्य भूमिका रहेको थानी समूहका नेताहरु बताउँछन् ।

१४ औं महाधिवेशनको तिक्तता गत स्थानिय तह निर्वाचनमा झनै बढ्यो । यो तिक्तताले थानी समूहलाई अझ कमजोर बनायो भने पार्टी सभापति देउवालाई रिझाएका खड्काको योजना अनुसार सुर्खेत मात्र नभई सिंगो कर्णाली हिँड्न थालेको बताइन्छ ।

२०५१ सालसम्म कांग्रेस केन्द्रमा पार्टी सभापति कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालाको छुट्टै समूह थियो । थानी र खड्का भट्टराई समूहमा थिए । त्यो बेला सुर्खेतमा कोइराला गुटको नेतृत्व शिवराज जोशीले गरेका थिए । २०४८ सालको संसदीय चुनावमा सुर्खेत–१ बाट खड्का र २ बाट थानी सिफारिस भएका थिए । तर, कोइराला परिवार निकट जोशीले क्षेत्र नम्बर २ को टिकट पाएपछि थानीले खड्कालाई सुर्खेत–१ मा चुनाव जिताउने अभियानमा लागेर चुनाव जिताएका थिए ।

२०४९ को स्थानीय निकाय निर्वाचनमा वीरेन्द्रनगरको मेयरमा उठ्न चाहन्थे थानी, तर खड्काले आफू निकट कालिप्रसाद शाक्यलाई टिकट दिलाउन भूमिका खेलेपछि पुराना नेता प्रेमदेव गिरीलाई बागी उम्मेद्वार बनाए । आफू पनि वीरेन्द्रनगर–१ को वडाअध्यक्षमा निर्वाचित भए ।

मेयरमा कांग्रेसको बागी उम्मेद्वार उठेको लाभ लिंदै एमालेका यामलाल कँडेल विजयी भए । वडा नं. १ का अध्यक्ष थानी जिल्ला विकास समितिको सभापति बन्ने प्रयासमा लाग्दा कांग्रेसको सुर्खेत जिल्ला सभापति रहेका खड्काले टिकट गोविन्द मल्ललाई दिए ।

जिविस सभापति पनि बन्न नपाएपछि थानी पार्टीको क्षेत्रीय सदस्य बन्ने प्रयासमा लागे, तर खड्काले त्यो पनि हुन दिएनन् । त्यसरी पेलानमा परेका थानीले २०५१ को संसदीय निर्वाचनतामा गुट नै परिवर्तन गरेर कोइराला समूहबाट सुर्खेत २ को टिकट हात पारे पनि विजयी भने हुन सकेनन् । त्यसपछि सुर्खेत कांग्रेसमा दुई गुट औपचारिक रुपमा सुरु भयो । दुवै समूह आ–आफ्नो राजनीति सपार्न तल्लिन भए । २०५१ देखि २०७८ सालसम्म थानीले सुर्खेत कांग्रेसको नेतृत्वमा पकड जमाएर खड्का समूहलाई पेलानमा राखेको खड्का पक्षका नेताहरु बताउँछन् ।

उति बेला आफूलाई पेलेको रिस खड्काले अहिले आएर थानी माथी पोखिरहेको ति नेताको दावी छ । गत वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनमा खड्का र थानी समूहको गुटबन्दीकै कारण सुर्खेतमा कांग्रेसले अपेक्षित परिणाम नपाएको दुबै पक्षका नेताहरु स्वीकार्छन् ।

पाँच नगरपालिका र चार गाउँपालिका रहेको सुर्खेतमा कांग्रेस र नेकपा एमालेले चार–चार अनि नेकपा माओवादी केन्द्रले एउटा पालिकाको नेतृत्व पायो । त्यसअघि २०७४ सालमा कांग्रेसले ६ वटा स्थानीय तहको नेतृत्व पाएको थियो । कांग्रेसले आफ्नो पकड क्षेत्र मानेको भेरीगंगा र वीरेन्द्रनगर नगरपालिका समेत यसपटक गुमायो । खड्काले प्रदेश र जिल्ला नेतृत्वमा आफ्नो पकड भएको लाभ लिंदै गत स्थानीय चुनावको टिकट वितरणमा थानी गुटलाई पूर्ण निषेध गरे । सुर्खेतका ९ पालिकामध्ये एउटामा पनि थानी निकटले टिकट पाएनन् ।

थानीको गृहनगर वीरेन्द्रनगरको मेयरमा उनको समूहले पूर्वक्षेत्रीय सभापति नारायण कोइरालालाई अगाडि सारीसकेकोमा खड्का निकट उपेन्द्रबहादुर खड्काले सिधै वडा सदस्यबाट मेयरको टिकट पाए । आफूले टिकट पाएपछि थानी समूहको असहयोग कै कारण खड्काले हारेको खड्का पक्षले आरोप लगाउदै आएको छ ।

तपाईको प्रतिक्रिया