हुम्लामा मौसमी फ्लुका बिरामी बढ्न थाले

सुर्खेत। हुम्लाको दक्षिणी भेगमा रहेको अदानचुली गाउँपालिकामा गएको शनिबारदेखि मौसमी फ्लुका बिरामी बढ्न थालेका छन् । अदानचुली–५ र ६ मा मौसमी फ्लुका बिरामीको चाप बढेपछि स्वास्थ्य संस्था भरिन थालेका छन् ।

अदानचुली–६ मा पर्ने लमही गाउँबाट फैलिएको मौसमी फ्लुको प्रकोप रोक्न लौठी स्वास्थ्यचौकीले शिविर सञ्चालन गरेको थियो । शिविर सञ्चालन गरेपछि सामान्य रुपमा नियन्त्रणमा आए पनि सोही वडाकै पाल्स, काँखे बारीगाउँ र करगहीमा नयाँ बिरामी देखा परेको लौठी स्वास्थ्यचौकीका प्रमूख नवराज भण्डारीले बताए ।

स्वास्थ्य शिविरमा एक सय ४९ जना बिरामीको उपचार गरेको जानकारी दिँदै उनले लमहीमा फ्लुका बिरामी नियन्त्रणमा आए पनि अन्य बस्तीमा फैलिँदै गएको जानकारी दिए । बिरामीले स्वास्थ्य संस्था भरिएपछि बहिरंग सेवाबाट उपचार गरिरहेको उनको भनाइ छ ।

श्रीनगर स्वास्थ्यचौकीका इन्चार्ज प्रयोगलाल जैसीका अनुसार अदानचुली गाउँपालिकाको केन्द्र रहेको श्रीनगर स्वास्थ्यचौकीमा पनि केही दिनयतादेखि बिरामीको चाप बढ्ने क्रममा छ । तर एक जना मात्र स्वास्थ्यकर्मीले सेवा दिइरहेका छन् । अन्य स्वास्थ्यकर्मी तालिमका लागि स्वास्थ्य संस्था बाहिर रहेका रहेका छन् ।

एक दिनमा ५० देखि ८० जना बिरामी उपचारका लागि आउने गरेको स्वास्थ्यचौकीका निमित्त इन्चार्ज जैसीको भनाइ छ । जैसीले भने, “अहिले स्वास्थ्यचौकीमा औषधि पर्याप्त मात्रामा छ । रोग फैलिए पनि रोग नियन्त्रका लागि गाउँपालिकाले औषधि पु(याएको छ ।”

श्रीनगर स्वास्थ्यचौकीमा उपचारका लागि आउने बिरामीको भीडबाट अरुलाई रोग सर्न सक्छ भनेर नियमित मास्क प्रयोग गर्न स्वास्थ्यकर्मीले जोड दिएका छन् ।

तपाईको प्रतिक्रिया