डेंगु सङ्क्रमण गाउँभन्दा सहरमा बढी

काठमाडौं। नेपालमा डेंगु सङ्क्रमण गाउँभन्दा सहरी क्षेत्रमा बढी हुने गरेको पाइएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार काठमाडौं, ललितपुर, भक्तपुर, सुनसरी, तनहुँ, झापा, धादिङ, कास्की, मोरङ लगायतका क्षेत्रमा बढी डेंगु सङ्क्रमित देखिएका हुन् ।

ईडीसीडीको सन् २०२२ र २०२३ को तथ्याङ्क हेर्दा भने अधिकांश सहरी क्षेत्रमा डेंगु सङ्क्रमित फेला परेका थिए । ९० प्रतिशत मान्छेमा डेंगुको लक्षण नदेखिने र सहरी क्षेत्रमा विभिन्न ठाउँका मान्छेको आउजाउ बढी हुने भएकाले डेंगु सङ्क्रमण बढी हुने ईडीसीडी अन्तर्गत किटजन्य रोग नियन्त्रण शाखाका प्रमुख तथा वरिष्ठ स्वास्थ्य प्रशासक डा.गोकर्ण दाहालले बताए ।

डा.गोकर्ण दाहाल ‘डेंगु देखिने भनेकै सहरी क्षेत्रमा हो । डेंगु सार्ने लामखुट्टेको नेचर फरक छ । यो प्रायःजसो फोहोरमा बस्दैन । असाध्यै फोहोर ढल अथवा मलमूत्र मिसिएको पानीमा बस्दैन । ‘यो लामखुट्टे अलि सफा खालको पानीमा बस्छ । सहरमा घना बस्ती हुन्छ । एउटै घरमा पाँचदेखि सात परिवार बस्छन् । पानी जम्मा गरेर राख्नु पर्ने हुन्छ । त्यसमा लामखुट्टेको विकास हुन्छ ।

डेंगु सार्ने लामखुट्टे साढे एकदेखि दुई सय मिटरभन्दा बढी उडेर जान सक्दैन । सहरी क्षेत्रमा घना बस्ती हुने भएकाले छिटो डेंगु सार्ने डा. दाहालले बताए । ‘सहरमा गमलाको प्रयोग बढी हुन्छ । गमलाको तल प्लेट राखिन्छ । त्यही प्लेटमा पानीमा जम्मा भएको हुन्छ । पानीका ट्याङ्की प्रशस्त हुन्छन् । ग्यारेजहरू प्रशस्त हुन्छन् । टायरहरू जथाभावी हुन्छन् । त्यही टायरहरू भएको ठाउँमा पानी जम्छ र लामखुट्टेको विकास हुन्छ,’ उनले भने, ‘बस्ती घना हुन्छ, सहरी क्षेत्रमा विभिन्न क्षेत्रका मान्छेको आउजाउ हुन्छ । यसले डेंगु छिटो सर्ने हुन्छ ।’

ईडीसीडीको तथ्याङ्क अनुसार सन् २०२३ मा ५१ हजार २४३ जनामा डेंगु देखिएको थियो भने २० जनाको मृत्यु भएको थियो । त्यतिबेला सहरी क्षेत्रमा सङ्क्रमण बढी देखिएको थियो ।

सन् २०२३ मा सुनसरीमा १६ हजार १७४ जना, तनहुँमा ७ हजार १९३ जना, झापामा ३ हजार ८२५ जनामा डेंगु पुष्टि भएको थियो । यस्तै, धादिङमा ३ हजार २३९ जना, कास्कीमा ३ हजार ६९ जना, मोरङमा २ हजार ३२८ जना, काठमाडौँमा २ हजार ७६ जनामा डेंगु पुष्टि भएको ईडीसीडीको तथ्याङ्क छ ।

यस्तै, संखुवासभामा १ हजार १५५, कैलालीमा ९ सय ९४ र गोरखामा ७ सय ६१ जनामा डेंगु पुष्टि भएको थियो ।

ईडीसीडीका अनुसार सन् २०२२ मा देशभर ५४ हजार ७८४ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको थियोे । सोमध्ये ८८ जनाको मृत्यु भएको थियो । सन् २०२२ मा नेपालका १० सहरी क्षेत्रमा डेंगु सङ्क्रमित बढी देखिएका थिए ।

यो वर्ष काठमाडौँमा १४ हजार ३७३ जना, ललितपुरमा ९ हजार ६१४ जना, भक्तपुरमा ६ हजार १४५ जना, मकवानपुरमा ५ हजार ८३७ जना, चितवनमा ३ हजार २१३ जनामा डेंगु सङ्क्रमण भएको सरकारी तथ्याङ्क छ ।

यस्तै, दाङमा २ हजार ४२८ जना, धादिङमा १ हजार ६८३ जना, रुपन्देहीमा १ हजार २१५ जना, काभ्रेपलाञ्चोकमा ५५७ जना र सुर्खेतमा ४७२ जनामा सङ्क्रमण देखिएको थियो ।

तपाईको प्रतिक्रिया