मुख्यमन्त्रीका लागि दाबी पेस गर्ने आज अन्तिम दिनः ‘पावर सेयरिङ’ मा कहाँ मिलेन कुरा ?

सुर्खेत । कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले गत बुधबार राजीनामा दिए । नयाँ सत्ता समीकरण अनुसार नै अघि बढ्नुपर्ने भएपछि चर्को दबाबकाबिच उनले राजीनामा दिएका थिए । लगत्तै प्रदेश प्रमुख तिलक परियारले नयाँ सरकार गठन गर्न आह्वान गरे । तर, अहिलेसम्म न मुख्यमन्त्रीका लागि दाबी पेस भयो न सत्तारुढ गठन्धन दलहरुबिच भागबण्डाको कुरा नै मिल्यो ।

प्रदेश प्रमुख परियारले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने कर्णाली प्रदेश सभाका सदस्यलाई चैत २७ गते साँझ ५ः५० बजे भित्र मुख्यमन्त्री पदका लागि दाबी पेस गर्न प्रदेश प्रमुखबाट आह्वान गरेका थिए । मुख्यमन्त्रीका लागि दाबी पेस गर्ने समय आज अन्तिम हो ।

माओवादी संसदीय दलका नेता समेत रहेका शर्माले राजीनामा दिएपछि नेकपा एमाले संसदीय दलका नेता यामलाल कँडेल मुख्यमन्त्री बन्दैछन् । तर, कँडेलले भागबण्डाको टुङ्गो लगाउन सकिरहेका छैनन । कँडेलको रणनीति पहिला मुख्यमन्त्री बन्ने त्यसपछि भागबण्डा गर्ने हो । तर, माओवादी भने पहिला प्याकेजमै भागबण्डाको टुङ्गो लगाउनुपर्ने त्यसपछि मात्रै मुख्यमन्त्री नियुक्तको पक्षमा उभियो । यही कुरामा दुई दलबिचको अडानले बिहीबार मुख्यमन्त्रीका लागि दाबी पेस गर्ने कार्यक्रम नै स्थगित भयो । उक्त दिन दुई दलका नेताहरुबिच मुख्यमन्त्री निवासमा वान टु वान वार्ता समेत चल्यो तर, कुरो टुङ्गोमा पुगेन । माओवादी संसदीय दलको बैठकले सरकारबारे सम्पुर्ण निर्णय गर्ने जिम्मेवारी दल नेता शर्मालाई दिइसकेको छ ।

मुख्यमन्त्रीका लागि दाबी पेस गर्ने कुरामा किन ढिलाई ? भन्ने प्रश्नमा एमाले संसदीय दलका नेता कँडेल भन्छन्, ‘दाबी पेस गरेपछि भैहाल्छ नि साथिहरु हो ।’ कँडेलले भागबण्डाको विषयमा त बोल्नै चाहेनन् । उता काम चलाउ सरकारका मुख्यमन्त्री एवम् माओवादी संसदीय दलका नेता शर्माले भने निरन्तर छलफल भइरहेको बताए । ‘भागबण्डाको कुरा सकेर नै मुख्यमन्त्रीको दाबी पेस हुने कुरा हो,’उनले भने, ‘आज (सोमबार) पनि छलफल भयो । मंगलबार नै मुख्यमन्त्रीको दाबी पेस हुन्छ ।’ तपाईँहरुले दाबी गर्नु भएको अनुसार भागबण्डा पहिला नै हुन्छ कि मुख्यमन्त्री नियुक्त पछि ? भन्ने प्रश्नमा उनले भने, ‘पहिला नै हुन्छ नि, छलफल सकरात्मक तरिकाले अघि बढेको छ ।’ तर, यो समाचार तयार गर्दासम्म भागबण्डाको सहमति भने भइसकेको अवस्था छैन ।

‘पावर सेयरिङ’का कहाँ भयो समस्या ?

यहाँ दुई दलबिच ‘पावर सेयरिङ’मा कुरा मिलेको देखिन्न । विशेषगरी अर्थ मन्त्रालय र सभामुख फेरबदल गर्ने कुरामा समस्या भएको हो । सरकारको नेतृत्व गर्ने दल एमालेले माओवादीलाई कम ‘पावर सेयरिङ’ गर्न चाहन्छ । जसका कारण भागबण्डाको टुङ्गो अहिलेसम्म लाग्न नसकेको हो । माओवादीले मुख्यमन्त्री गुमाएपछि अर्थसहित चार मन्त्रालय र सभामुख पद माग गरेको छ ।

आवरणमा एमालेले सभामुखको विषयमा समस्या भन्ने गरेपनि अहिलेको समस्या भनेको अर्थ मन्त्रालयमा हो । एमालेले अर्थ मन्त्रालय माओवादीलाई दिन चाहेको छैन । ‘मुख्यमन्त्रीलाई काम गर्न सजिलो होला भनेर अर्थ एमाले आफै राख्न चाहन्छ,’ एमालेका एक नेता भन्छन् । तर, यसअघिको गठबन्धनमा मुख्यमन्त्री एउटा दलको भएपछि अर्थ अर्को मन्त्रालयले सम्हाल्दै आएको उदारणहरु छन् । तत्कालीन नेकपा हुँदै अहिलेसम्म आउँदा सरकारको नेतृत्व गरेको दलले अर्थ गठबन्धनभित्रकै अर्को दललाई दिँदै आएको छ ।

तर, अहिले यामलाल कँडेल अर्थ आफैसँग राखेर आफ्ना विश्वासपात्र मानिएका सांसद टेकराज पछाईलाई त्यहाँ पठाउन चाहिरेको स्रोतको दाबी छ । ‘बाहिर माओवादीले सरकार गठनमा हलो अड्कायो भन्ने अनि नेतृत्व गर्ने दलले नै हलो अड्काएको हो,’ माओवादीका एक सांसदले भने, ‘हामी त अहिले माग राख्ने ठाउँमा छौँ, सम्बोधन गरेर लैजाने कुरामा त एमाले हो नि ! अनि माओवादीले सरकार गठनमा हलो अड्कायो भनेर हुन्छ ? ‘पावर सेयरिङ’को यसअघिको उदारण हेरे भैगो नि !’

यो समाचार सुर्खेतबाट प्रकाशित प्रदेश रैबार साप्ताहिकमा प्रकाशित भएकाे छ ।

तपाईको प्रतिक्रिया