यूएईमा मलको भवनबाट खसेर एक नेपाली महिलाको मृत्यु

काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) मा मलको भवनबाट खसेर एक नेपाली महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा अर्घाखाँचीकी राधा न्यौपाने हुन् ।

यूएईमै बस्दै आएका राधाका श्रीमान कैलालीका नेत्रप्रसाद न्यौपानेसँग आपसी विवाद हुँदा यूएईको अजमानस्थित चाइना मलको भवनबाट खसेर उनको मृत्यु भएको बताइएको छ ।

गैरआवासीय नेपाली संघ (एनआरएनए)नेपाल एसोसिएसनका अध्यक्ष विकास शाहीका अनुसार घटनाको पुष्टि भएको छ र घटनाका बारे थप बुझ्ने काम भइरहेको छ ।

केही दिनअघि दुई जनाबिच विवाद भएको र सोही क्रममा भवनबाट खसेर उनको मृत्यु भएको खबर आएको अध्यक्ष शाहीले बताए । । घटनापछि श्रीमान न्यौपाने फरार भएका छन् ।

नेत्रले राधासँग दोस्रो बिहे गरेको र पहिलो बिहे उनले गुपचुप राखेको थापा पाएपछि मदिरा पिएको बेला उनीहरुबीच विवाद भएको बताइएको छ । विवादकै क्रममा नेत्रले धकेल्दा यो घटना भएको प्रत्यक्षदर्शीलाई उदृत गर्दै संघले जनाएको छ । मलबाट खसेकी राधाको शव क्षतविक्षत अवस्थामा फेला परेको बताइएको छ । उनको शव स्थानीय अस्पतालमा राखिएको छ ।

उनीहरु दुबै जनाको यूएईमा रेसिडेन्ट कार्ड भएको र यूएईमा काम गर्दै बस्दै आएको खुलेको छ । यसबारे दूतावासमार्फत आवश्यक प्रक्रिया अघि बढाइएको छ ।

तपाईको प्रतिक्रिया