हुम्लाका छात्रालाई सेनिटरी प्याड निर्माण सम्बन्धी तालिम

सुर्खेत। हुल्लाका छात्रा तथा महिलाहरुलाई स्थानीय प्रविधिको प्रयोग गराउनका लागि सेनिटरी प्याड निर्माण सम्बन्धी तालिम दिइएको छ । छात्रा तथा महिलाले आफुसँग भएको कपडाबाट सेनिटरी प्याड निर्माण गरेर प्रयोग गर्नका लागि तालिम प्रदान गरिएको हो ।

नाम्खा गाउँपालिका– ४ की छिरिङ लामाले स्थानीय सामग्रीबाट निर्माण गर्न सकिने सेनिटरी प्याड निर्माणसम्बन्धी तालिम लिएको बताइन्। यसअघि महिनावारी हुँदा प्याडको प्रयोग नगर्ने लामाले अब महिनावारी भएको समयमा आफैँले प्याड निर्माण गरेर प्रयोग गर्न सक्ने भएको बताइन्।

महिनावारी भएको समयमा आफैँ प्याड तयार गरी प्रयोग गर्न सक्ने भएकाले यो तालिमले सहज बनाएको बताइन् ।
नाम्खा गाउँपालिका सुसा परियोजनाका फिल्ड संयोजक दन्तबहादुर शाहीका अनुसार ल महिनावारीका बेला प्रयोग गर्नका लागि आवश्यक पर्ने सेनिटरी प्याड निर्माणसम्बन्धी छात्रा, महिला र गुम्वाका आनीलाई तालिम प्रदान गरिएको हो । महिलाहरुसँग हुने कपडाबाट प्याड तयार गरी महिनावारी भएको समयमा प्रयोग गर्नका लागि तालिम प्रदान गरिएको हो ।

तालिममा महाबौद माध्यामिक विद्यालयमा १० जना छात्रा, २० जना स्थानीय महिला र २५ जना गुम्वाका आनी गरी ५५ जनालाई तालिम प्रदान गरिएको हो । यसका लागि स्वास्थ्यकर्मीले प्याड निर्माणमा सहजीकरण गरेका हुन् ।

दुई दिनसम्म सञ्चालन गरिएको उक्त तालिममा सहभागीहरुले सहजै प्याड तयार गरेर प्रयोग गर्न सक्ने भएको संयोजक शाहीले बताए । साथै सहभागीहरुले आफ्नो छिमेकका महिलाहरुलाई समेत प्याड निर्माणको सीप सिकाउने प्रतिबद्धता जनाएका थिए ।

तपाईको प्रतिक्रिया