निर्माता हुदाको स्वस्तिमाको पहिलो अनुभव

काठमाडौं। अभिनेत्री स्वस्तिमा खड्काले निर्माताको रूपमा पनि काम गर्न थालेकी छिन् । उनको निर्माण रहेको पहिलो फिल्म ‘बेहुली फ्रम मेघौली’को हालै छायाङ्कन सकिएको छ । चितवनको विभिन्न स्थानमा ३४ दिनको नियमित छायाङ्कनपछि फिल्म सकिएको हो ।

सफलता पूर्वक फिल्म छायाङ्कन सकाएकी खड्कामा फिल्मलाई लिएर उत्साह हुनुपर्ने हो । तर उनी भावुक देखिएकी छन् । जसको अनुमान उनले सामाजिक सञ्जालमा गरेको पोस्टबाट पनि लगाउन सकिन्छ ।

नयाँ यात्रामा पहिलो पाइला चाल्नुअघि असङ्ख्य प्रश्नले घेर्ने, सफलता र असफलताको बोझले पहिलो पाइला असाध्यै गह्रौँ हुने उनले बताएकी छन् । उनी भन्छिन्, ‘जब पाइलाले गति लिन्छ, ती सबै बोझहरू हलुका लाग्न थाल्छन् । झन्, त्यो यात्रामा हिँड्ने असल सहयात्री हुने हो भने गन्तव्यमा पुगेको पत्तै हुन्न ।’

फिल्मका दुई निर्देशक आकाश बराल र सजन काफ्ले, कार्यकारी निर्माताद्धय शंकर पाण्डे र फिरोज खड्का लगायतलाई सुटिङ सजिलोसँग सकाएकोमा आभार व्यक्त गरेकी उनले हरेक निर्णय र कदममा साथ दिएर आफूलाई पूर्ण बनाएको भन्दै पति तथा निर्देशक निश्चल बस्नेतलाई पनि धन्यवाद दिएकी छिन् ।

‘बेहुली फ्रम मेघौली’ फिल्ममा स्वस्तिमा खड्का, निश्चल बस्नेत, विजय बराल, सिम्रन खड्का, आमिर गौतम लगायतको अभिनय देख्न सकिन्छ ।

तपाईको प्रतिक्रिया