जीवन शाहीलाई मुद्दा लगाएर षड्यन्त्र गरेकाे कर्णाली कांग्रेसकाे ठहर

सुर्खेत । दुईवटा वाइडबडी विमान खरिदमा भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्व पर्यटन मन्त्री जीवनबहादुर शाही लगायत ३२ जनालाई प्रतिवादी बनाई अदालतमा दायर भएको मुद्दाको विषयमा नेपाली कांग्रेस कर्णाली प्रदेश संसदीय दलले बचाउ गरेकाे छ । बिहीबार बसेको प्रदेशसभा बैठकमा कांग्रेसले दल नेता शाहीमाथि षड्यन्त्र भएको ठहर गरेका हाे ।

कांग्रेस संसदीय दलका प्रमुख सचेतक हिक्मत विष्टले दल नेतालाई लगाइएको मुद्दा जुन तरिकाले, जुन समयमा लगाइयो त्यसले आफूहरूलाई संशय उत्पन्न गराएको बताए ।‘यो संयोग हो कि षड्यन्त्र हो,’उनले भने, ‘हामीलाई षड्यन्त्रको आभास भइरहेको छ । किनभने जुन बेलामा कर्णालीका तत्कालीन मुख्यमन्त्रीले विश्वासको मत मागिरहनु भएको थियो, त्यहीबेला हाम्रो नेतामाथि मुद्दा उठाइयो ।

सात वर्ष अगाडिको मुद्दा मिसिल र फाइलको खातमा लुकेको त्यो फाइललाई कताबाट उधिनेर, छारो टकटक्याई मुद्दाका रूपमा उठाई अख्तियारले जुन मुद्दा चलाउने निर्णय लियो यो संयोग नभई षड्यन्त्र हो भन्ने हामीलाई लागेको छ ।’ यो विषयप्रति कांग्रेसले खेद प्रकट गरेको छ । साथै उनले नेपाल सरकारले अहिले राज्य आतङ्क सिर्जना गरिरहेका बताए ।

तपाईको प्रतिक्रिया