भर्ना अभियान गर्दै कालीकोटका सामुदायिक विद्यालय

कालीकोट। कालीकोटका सामुदायिक विद्यालय भर्ना अभियानमा लागेका छन् । सामुदायिक विद्यालय आइतबारदेखि विद्यार्थी भर्ना अभियानका लागि घरदैलो जान थालेका छन् ।

नयाँ शैक्षिकसत्रमा विद्यालय जाने उमेर समूहका बालबालिकालाई अनिवार्य विद्यालय भर्ना गर्ने लक्ष्यका साथ अभियान सुरु गरिएको जिल्ला शिक्षा विकास तथा समन्वय इकाइ कार्यालयले जनाएको छ ।

कालीकोटमा रहेका आधारभूत दुई सय २५, माध्यमिक ७५, बालविकास केन्द्र ४२, सामुदायिक सिकाइकेन्द्र ३० वटा र खुला विद्यालय एक गरी विद्यालयले भर्ना अभियान सञ्चालन गरेका इकाइका प्रमुख प्रकाशचन्द्र धितालले जानकारी दिए ।

“जिल्लाका नौ स्थानीय तहका सामुदायिक विद्यालयमा विद्यार्थी भर्ना दर बढाउनका लागि अभियान नै सञ्चालन गरेका छौँ”, उनले भने, “सरकारले सामुदायिक विद्यालयमा विद्यार्थीलाई आकर्षित गर्न निःशुल्क भर्नादेखि निःशुल्क पाठ्यपुस्तक, छात्रवृत्ति र दिवा खाजा उपलब्ध गराउँदै आएको छ । त्यही आधारमा सबै बालबालिकालाई विद्यालय भर्ना अभियानमा सहभागी गराउने प्रयास गरिरहेका छौँ ।”

विद्यालयमा विद्यार्थी सङ्ख्या वृद्धि गर्न अभियान सुरु गरेको बडिमालिका माव रास्कोटका प्रधानाध्यापक पुष्पराज बरालले बताए । “गत वर्षदेखि नेपाली र अङ्ग्रेजी दुवै माध्यमबाट पठनपाठन सुरु भएकाले त्यसको सन्देश दिन पनि भर्ना अभियान घरदैलो गरिरहेका छौँ”, उनले भने, “गत वर्ष अभियानमार्फत ७५ जना विद्यार्थी थपेका थियौँ । यस वर्ष पनि विद्यालयले विद्यार्थीको सङ्ख्या वृद्धि गर्ने लक्ष्य राखेको छ ।”

तपाईको प्रतिक्रिया