समिक्षा

कर्णालीबासीका लागि पीडाको बर्ष– २०८०..!

हत्या, गोलीकाण्डदेखि आगलागीका घटनाले आक्रान्त, र लागेन राजनीतिको पारिलो घाम

सुर्खेत । २०८० साल कर्णाली प्रदेशबासीका लागि दुःख र पीडाको बर्ष बन्यो । गत कार्तिक १७ गते जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु बनाएर ६ दशमलव ४ म्याग्निच्युडको भूकम्पले कर्णालीका गाउँबस्तीहरु तहसनहस पा¥यो । यो भूकम्पमा परी १५० बढीले ज्यान गुमाए भने ३६६ जना घाइते भए । विशेषगरी जाजरकोट, रुकुम पश्चिम सल्यानमा ठुलो क्षति ब्यहोनुप¥यो । त्यसपछि पनि त्रिपालमुनि रहेका कतिपय नागरिकहरुले ज्यान गुमाए ।

भूकम्पबाट जाजरकोट र रुकुम पश्चिमका झन्डै ९५ हजार ७८७ घर भत्किए । हजारौँ परिवारहरु घरवारविहीन भए । त्यसैले बर्ष २०८० कर्णालीबासीका लागि दुःख र पीडाको बर्ष बन्यो । कर्णालीबासी अब यस्तो दिन नआईदियोस् भन्ने चाहन्छन् । जाजरकोट भूकम्पबाट प्रभावितहरु अहिले अस्थायी टहरामा छन्, उनीहरु चाहछन्–०८१ भित्रै घरहरुमा स्तान्तरण हुन पाइदिएको भए । तर, राज्यले अहिलेसम्म पुनर्निर्माणका लागि न योजना बनाएको छ न कार्यविधि नै । राष्ट्रिय राजीतिमा आइरहने फेरबदल र उत्तारचढावले पुनर्निर्माणको योजनामा ढिलाई भइरहेको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जाजरकोट र रुकुम लगायत पछिल्लो भूकम्पबाट क्षति भएका भौतिक संरचनाको पुर्निर्माण तथा पुनर्स्थापना लगायतका काम गर्न झन्डै ५ सय मिलियन डलर अर्थात् ६६ अर्ब ४० करोड, ५४ लाख लाग्ने पूर्व अनुमान गरिएको छ । पुनर्निर्माणका लागि प्रति घर झन्डै ५ लाख रुपैयाँ अनुदान दिँदा ५२ अर्ब ४२ करोड ७ लाख लाग्ने पूर्व अनुमान गरिएको छ । कर्णालीबासीले भूकम्पको धक्का र पीडा अझै विर्सन सकिरहेका छैनन् ।

हत्या हिंसा, गोलीकाण्डदेखि आगलागीले आक्रान्त

कर्णालीमा भएका ठुला हत्याकाण्डदेखि गोलिकाण्डले पनि कर्णालीका लागि बर्ष २०८० सुखद् रहेन । आफ्नै परिवारभित्रनै ठुला हत्याकाण्डदेखि सार्वजनिक ठाउँहरुमा गोलीसम्म चले । ०८० माघ पहिलो साता पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिका–६, कुवापानीका १८ वर्षीय युवक भरत बुढाको हत्या भयो । उक्त हत्या उनकै बाबु ४५ बर्षीय नयाराम बुढाले गरेका थिए । उनी पछि टिकापुर–१, लम्किपुरबाट पक्राउ परे । आफ्नै छोराको बन्चरो प्रहार गरी हत्या गरेका थिए, उनले ।

हत्या पश्चात् घर अगाडिको बाख्राको खोर नजिकै सुकेको डाले घाँसले शवलाई छोपेर राखेको र फरार भएका थिए । उनले हत्या गर्नुको पछाडि बलात्कार सम्बन्धीको विषय जोडियो । असोज तेस्रो सातातिर छोरीलाई बलात्कार गरेको भन्दै प्रहरीमा जाहेरी परेको थियो । कार्तिक १५ गते प्रहरीमा परेको जाहेरीमा मृतककी बहिनीमाथि बुबाले बलात्कार गरेको विषय उल्लेख छ । प्रहरी अधिकृतका अनुसार भारतमा काम गरिरहेका बुबाले घरमा आई मामा घरमा रहेकी छोरीलाई बोलाई बलात्कार गरेका थिए । बहिनीले दाइलाई भनेपछि दाइले प्रहरीमा जाहेरी दिएका थिए । सभ्य समाजभित्र भएको यस्तो खालको घटनाले सबैको ध्यान तान्यो नै ।

सबैभन्दा ठुलो मुगु हत्याकाण्ड विर्सन नसकिने घटना हो । उक्त घटनाले कर्णाली मात्र हैन सिंगो देशलाई नै आकर्षित ग¥यो । मुगुको छायाँनाथ रारा नगरपालिका–६, मन्दु गाउँकी २८ वर्षीय श्रीदेवी बोहरा, उनका छोरा ११ वर्षीय मनोज बोहरा, ८ महिनाका अर्का छोरा रहर बोहरा र ८ वर्षीय छोरी अप्सरा बोहराको घरभित्रै भएको सामुहिक हत्याकाण्ड कार्तिक महिनाको हो । नेपालीहरुको महान चाड दशैंको बेलामा भएको उक्त घटनामा संलग्न दुई जना पक्राउ परिसकेका छन् ।

हत्या गर्ने सोही नगरपालिकाको–७, पिना घर भइ बाँकेको बैजनाथ गाउँपालिका–१, चिसापानी बस्ने ३१ वर्षीय गोर्खराज शाही ‘काले’ र मन्दु गाउँकै ३१ वर्षीय गोपालबहादुर बोहोरा हुन् । कतारमा रहेका श्रीदेवीका श्रीमान दीपकले भिसा नपठाइदिएको भन्दै गोपालबहादुरको योजनामा उक्त हत्याकाण्ड भएको थियो । धारिलो हतियारबाट टाउको र घाँटीमा प्रहार गरी हत्या गरिएको अवस्थामा श्रीदेवीसहित छोराछोरीको शव भेटिएको थियो ।

कार्तिकमै ढोग (दर्शन) नगरेको भन्दै कुटपिट गर्दा सल्यानको बागचौर नगरपालिका–७ का २० वर्षीय घनश्याम ओलीको मृत्यू भयो । उक्त घटनामा २५ वर्षीय केशर ओली र २३ वर्षीय सन्तोष ओली पक्राउ परे । सल्यानकै सिद्धकुमाख–४, मा आफ्नै बुहारीले सासुको हत्या गरी शव भकारीमा राखेको घटना पनि चर्चित बन्यो । १८ असोजमा आफ्नै घरको भकारीमा मृत फेला परेकी ४९ वर्षीय गणेशी रोकालाई आफ्नै १८ वर्षीय बुहारी शर्मिला बुढाथोकीले सलले घाँटीमा बेरेर हत्या गरेकी थिइन् । बारीमा धान माड्न जाँदा सासू बुहारीबिच भएको घरायसी विवादले उत्पन्न घटनाले समाज कता जाँदै छ भन्ने देखाउँछ ।

यस्तै मध्य फागुनमा प्रदेश राजधानी वीरेन्द्रनगरमा भएको गोलीकाण्डले पनि सबैको ध्यान तान्यो । वीरेन्द्रनगर नगरपालिका–१, गैरीचोकमा विनोद गिरीलाई लक्षित गर्दै गोली प्रहार भएको थियो । डेढ लाखको सुपारी दिई योजनाबद्ध तरिकाले प्रहार गरिएको गोलीबाट भने गिरी बच्न सफल भए । उक्त घटनामा कैलालीको गौरीगंगा नगरपालिका–२, का १८ वर्षीय इन्द्र बिक, १८ वर्षीय भरत भुल, वीरेन्द्रनगर–४ का ३७ वर्षीय राजन गिरी र भारतको उत्तर प्रदेश बिजनौर जिल्लाको दादानगरगञ्जस्थित जोसीपन मोहल्ला बस्ने १९ वर्षीय रोहित राजपूत रहेका छन् । राजपूत यस घटनामा सुटरको रूपमा प्रयोग भएका छन् । यो घटनाका मुख्य योजनाकार भने अझै पक्राउ पर्न सकेका छैनन

यस बाहेक आगलागीका घटनाहरुले पनि कर्णाली आक्रान्त बन्यो, ०८० मा । गत असोज दोस्रो सातातिर मुगुको सदरमुकाम गमगढीमा भएको आगलागीबाट ८ वटा घर पूर्ण रूपमा जलेर नष्ट भए भने ३ वटा घरमा आंशिक क्षति पुग्यो । आगलागीबाट २८ परिवारका ९५ जना प्रभावित भए ।
गत माघ २२ गते मात्रै मुगुको खत्याड गाउँपालिका–२, गाडेखोलाको एक घरमा राती आगो लाग्दा दाजु–बहिनीको मृत्यू भयो । चैत्र अन्तिम सातामा मात्रै डोल्पामा आगलागीबाट ६ जनाको ज्यान गयो । गत असारमा जुम्लाको तातोपानी गाउँपालिका–४ मा, स्थानीय २१ वर्षीय मुकुन्द्र नेपालीले सोही गाउँकी १४ वर्षकी नाबालिकालाई भगाएपछि आवेगमा आएर नाबालिकाका दाइले मुकुन्द्रको घर जलाइदिएको घटनाले सबैचिर चर्चा पायो ।

राजनीतिः कांग्रेसलाई घाटा, एमालेलाई फाईदा

बर्ष ०८० मा कर्णाली प्रदेशको राजनीतिमा नेपाली कांग्रेसलाई घाटा लाग्यो भने एमालेलाई फाईदा पुग्यो । ०८० को पहिलो सातामा सरकारमा इन्ट्रि पाएको कांग्रेस एक बर्ष नबित्दै सरकारबाट बाहिरीनुप¥यो । संसदमा पहिलो शक्ति भएपनि यतिबेला कांग्रेस प्रमुख प्रतिपक्षको भूमिकामा छ । तर, १० सिटसहित तेस्रो दलको हैसियतमा रहेको एमालेले चैत २७ गते नेतृत्वसहित सरकारमा इन्ट्रि पायो ।

०७४ देखिनै मुख्यमन्त्री बन्ने उद्देश्यसहित प्रदेश झरेका एमालेका नेता कँडेलको ०८० मै मुख्यमन्त्री बन्ने भाग्य जु¥यो । यद्यपि उनले कर्णालीको समृद्धि र विकासका लागि कत्तिको काम गर्न सक्छन्, त्यो भने ०८१ मा हेरिने छ । सँधै सत्ताकै वरिपरी रहने माओवादी अहिलेपनि सत्ताकै घेरामा छ । दलहरुको सत्तास्वार्थको राजनीतिले कर्णालीको विकास र समृद्धिमा खासै घाम लागेको देखिन्न । नेताहरु विकास र परिवर्तन भन्दा पनि सत्तास्वार्थको राजनीतिक ‘रङ्गमञ्च’मा रमाइरहेका छन् ।

– सुर्खेतबाट प्रकाशित प्रदेश रैबार साप्ताहिकले समाचार प्रकाशित गरेको छ ।

तपाईको प्रतिक्रिया