सल्यान बस दुर्घटनामा घाइते भएका एक जनाको उपचारका क्रममा मृत्यु

सुर्खेत। बुधबार सल्यानमा भएको बस दुर्घटनामा परी घाइते भएका एकजना यात्रुको उपचारका क्रममा बुधबार राति मृत्यु भएको छ ।

बुधबार बिहान ११ बजेतिर दाङबाट रुकुम जाँदै गरेको यात्रुबाहक बस दुर्घटनामा परी गम्भीर घाइते भएका तुलसीपुर उपमहानगरपालिका–४ निवासी ४६ वर्षीय विष्णु विक (गाडी धनी) को उपचारका क्रममा राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

दाङबाट रुकुम पश्चिम तर्फ जाँदै गरेको रा१ख २०८५ नम्बरको यात्रुबाहक बस सल्यान बाघचौर नगरपालिका–२, ठिनबाङ्ग खोलाको पुलबाट खसेको थियो ।

बस दुर्घटनामा परी २२ जना घाइते भएका थिए । तीमध्ये गम्भीर घाइते भएका चार जनालाई कोहलपुर अस्पताल पठाइएको थियो । बाँकी घाइतेको दाङमा उपचार भइरहेको छ । उक्त दुर्घटनामा परी गम्भीर घाइते भएका तीनजना यात्रुको हाल शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको छ । सामान्य घाइते भएका अधिकांश भने उपचारपछि घर फर्किसकेका छन् ।

तपाईको प्रतिक्रिया