काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सुन र नगद रुपैयाँ सहित सात जनालाई पक्राउ गरेको छ । अपराध अनुसन्धान कार्यालयको टोलीले एक किलोग्राम ७६८ ग्राम सुन र एक करोड ४३ लाख ६० हजार रुपैयाँ सहित सात जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा दार्चुलाको महाकाली नगरपालिका-३ टाँटेका ४७ वर्षीय गणेशदत्त बडू र आयुष बडू, झापाको बिर्तामोडका दिनेश खरेल र भरतराज खरेल तथा भारतको महाराष्ट्रका अमोल बिभुते, ऋषिकेशप्रकाश बिभुते र गणेशसतिश बाल्टे छन्।
अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार सुनको अवैध कारोबार गरेको सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको हो ।
काठमाडौंको इन्द्रचोकबाट बिहीबार साँझ पक्राउ परेका उनीहरूलाई शुक्रबार प्रहरीले सार्वजनिक गरेको छ। उनीहरूलाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको छ ।
नेपालीरैबार । २०८१ बैशाख १४, शुक्रबार