सुर्खेत । कर्णाली प्रदेश सभाको दोस्रो कार्यकालको तेस्रो अधिवेशन अन्त्य गरिएको छ । सोमबार राती १२ बजेदेखि लागु हुनेगरी अधिवेशन अन्त्य गरिएको हो । तेस्रो अधिवेशनमा ११ वटा बैठक बसेका छन् भने १२ घण्टा ५६ मिनेट समय खर्च भएको छ ।
तेस्रो अधिवेशनको पहिलो बैठक फागुन ३० गते सुरु भएको थियो । प्रदेश पमुख तिलक परियारले दोस्रो कार्यकालको तेस्रो अधिवेशन अन्त्य गरिएको पत्र प्रदेश सभा सचिवालयमा पठाइएको थियो । प्रदेश प्रमुख परियारले संविधानको धारा १८३ को उपधारा २ बमोजिम अधिवेशन अन्त्य गरेका हुन् । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले अधिवेशन अन्त्य गर्ने निर्णय गरेको थियो ।
सभामुख नन्दा गुरुङले उक्त पत्र पढेर सुनाउँदै अधिवेशन अन्त्य घोषणा भएको जानकारी गराइन् । यो अधिवेशनमा मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत लिए भने प्रदेश खेलकुद विकास ऐन ०७६ लाई संशोधन गर्न बनेको विधेयक, कर्णाली प्रदेश प्रहरी सेवा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र कर्णाली प्रदेशको विद्युत सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८०, विषयगत समितिमा विचाराधिन अवस्थामा रहेका छन् । साथै फागुन १५ गते कर्णाली प्रदेश लोकमार्ग सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सचिवालयमा दर्ता भएको छ ।
नेपालीरैबार । २०८१ बैशाख १७, सोमबार