युद्धपछि प्यालेस्टिनी जीडीपी २७ प्रतिशतले सङ्कुचित

काठमाडौं। सात महिनाको युद्धपछि गरिबी दर बढेसँगै प्यालेस्टिनी अर्थतन्त्र २६ दशमलव नौ प्रतिशतले सङ्कुचित हुने अनुमान गरिएको संयुक्त राष्ट्र विकास कार्यक्रम (यूएनडीपी) ले बिहीबार जारी गरेको नयाँ मूल्याङ्कनले जनाएको छ ।

 


पश्चिम एसियाका लागि आर्थिक र सामाजिक आयोगका साथ जारी अनुमानले प्यालेस्टिनी गरिबी दर बढेर ५८ दशमलव चार प्रतिशतसम्म पुग्ने देखाएको छ ।

दक्षिणी इजराइलमा अक्टोबर ७ मा हमासको आक्रमणपछि युद्ध सुरु भएको हो । इजराइली आँकडाअनुसार हमासको आक्रमणमा अधिकांश सर्वसाधारणसहित एक हजार एक सय ७० जनाको मृत्यु भएको थियो ।

हमासद्वारा सञ्चालित क्षेत्रमा स्वास्थ्य मन्त्रालयका अनुसार हमासको अन्त्य गर्ने वाचा गरेको इजराइलको जवाफी आक्रमणमा अधिकांश महिला तथा बालबालिकासहित ३४ हजार पाँच सय ९६ जनाको मृत्यु भएको छ ।

गाजाको अधिकांश भाग भग्नावशेषको खैरो परिदृश्यमा परिणत भएको छ । “यो युद्ध जारी रहेको हरेक थप दिनले गाजावासी र सबै प्यालेस्टिनीहरूलाई ठूलो जटिल लागतको सामना गर्नुपरिरहेको छ”, यूएनडीपीका प्रशासक अचिम स्टिनरले विज्ञप्तिमा भने, “युद्ध हुँदा पनि गाजामा पीडा समाप्त हुँदैन भन्ने यो नयाँ आँकडाले चेतावनी दिएको छ ।”

उनले कम समयमा ठूलो मात्रामा नोक्सानीबाट उत्पन्न हुने ‘गम्भीर विकास सङ्कट’ को चेतावनी दिए । यूएनडीपीले युद्ध नौ महिनासम्म जारी रह्यो भने गरिबी युद्ध–पूर्वस्तरको दुई गुणाभन्दा बढी हुने अपेक्षा गरिएको बताएको छ । उक्त समयमा कूल गार्हस्थ्य उत्पादन (जीडीपी) मा गिरावट २९ प्रतिशतसम्म पुग्नेछ ।

अप्रिलको प्रारम्भमा प्रकाशित विश्व बैंकको रिपोर्टमा इजराइल–हमास युद्धबाट गाजाको महत्त्वपूर्ण पूर्वाधारमा करिब १८ अर्ब ५० करोड डलर नोक्सान भएको बताइएको छ ।

तपाईको प्रतिक्रिया