दुर्गा प्रसाईँ निकट युवाद्वारा बैंकमा तोडफोड

काठमाडौं। मेडिकल व्यवसायी दुर्गा प्रसाईँ निकट मानिएका केही व्यक्तिहरूले एभरेष्ट बैंक र ज्योति विकास बैंकको बिर्तामोड शाखा कार्यालयमा तोडफोड गरेका छन् । ऋणिलाई टर्चर दिएको भन्दै उनीहरूले दुई वटा बैंकमा तोडफोड गरेका हुन् । तोडफोडमा संलग्न चार जना कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बिर्तामोडका प्रहरीका अनुसार घटनामा संलग्न भएको अभियोगमा बुद्धशान्तिका अन्जेस राई (बुलेट किराँती), बिर्तामोड–३ सैनिकमोडका मनिकुमार तामाङ सहित चार जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्ने अन्य दुई जनाको नाम सार्वजनिक भएको छैन ।

प्रसाईँ नेतृत्वको ‘राष्ट्र राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाउ महाअभियान’ को युवा सङ्गठन नागरिक युवा दस्ताको आयोजनामा भएको प्रदर्शनपछि बैंकमाथि आक्रमण भएको प्रहरीले जनाएको छ । नागरिक युवा दस्ताका झापा जिल्ला प्रमुख भीम तुम्बापोको नेतृत्वमा विरोध प्रदर्शन भएको थियो ।

गएको वैशाख २५ गते एभरेष्ट बैंक र ज्योति विकास बैंकले टर्चर दिएको भन्दै बर्दियाको राजापुरका खुशीराम चौधरी आत्महत्या गरेको भन्दै प्रसाईँका कार्यकर्ता विरोधमा उत्रिएका हुन् । लगभग १ सय ५० जनाको उपस्थितिमा कालो माक्स र नेपालको झण्डासहित विभिन्न विरोधका नारा लगाउँदै उनीहरूले विरोध प्रदर्शन गरेका थिए ।

प्रदर्शनकारीले ज्योति विकास बैंकमा प्रवेश गर्न खोजेपछि प्रहरीले हस्तक्षेप गरेको थियो । उनीहरूले एभरेष्ट बैंक रहेको घरमा ढ्ङगा प्रहार गर्दा सो घरको १५, १६ वटा सिसा फुटेको प्रहरीले जनाएको छ । ज्योति विकास बैंकमा भने क्षति नभएको प्रहरीको भनाई छ ।

तपाईको प्रतिक्रिया