सेवाग्राहीलाई समस्या देखाउँदै पन्छिने कर्मचारी माथि कारबाही हुने : मुख्यमन्त्री कँडेल

सुर्खेत। अधिकांश कार्यालयका कर्मचारीहरू सेवाग्राहीको कामलाई सहजिकरण गरेर सेवा दिने भन्दा पनि समस्या देखाउँदै पन्छिने गर्छन् । यो समस्या कर्णालीमा मात्र नभएर देशैभरका कर्मचारीको रोग जस्तै बनेको छ ।

राष्ट्रसेवक भएर पनि नेपाली नागरिकको सेवाका लागि कटिबद्ध नहुने कर्मचारीको लेखाजोखा गर्ने समस्या देखाएर पन्छिने कर्मचारी माथि कारबाही गर्ने कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले बताए । सार्वजनिक जीवनमा प्रभाव राख्ने क्षेत्रमा समस्या देखाएर कोही पन्छिन नमिल्ने उनले बताएका छन्।

निर्माण व्यवसायीसँगको छलफलमा कँडेलले कर्मचारीहरूले जनताको समस्यालाई समाधान गर्नु पर्ने दायित्व भएको भन्दै यसमा पन्छिन नमिल्ने बताए । समस्या देखाएर नागरिकलाई दुःख नदिन निर्देशन दिदै यसको लेखाजोखा गर्ने बताए।

देखा परेका अल्झनका सम्बन्धमा नीतिगत गर्न मिल्ने र सकिने सबै प्रक्रियामा सहयोग गर्ने प्रतिबद्धता जनाउँदै कँडेलले सडक निर्माण र अन्य कार्यलाई गति दिन आग्रह गरेका थिए । विकास सहज बनाउने भन्दा पनि अनेक बखेडा निकालेर नागरिकलाई दुःख दिने काम कुनै पनि हालतमा स्वीकार्य नहुने मुख्यमन्त्री कँडेलको भनाई थियो ।

करिब ३ दशकअघि अर्थात् २०५१ सालमा सुर्खेत–बाबिया चौर–बेनी घाट सडक निर्माण सुरु भएको थियो । पूर्वको झापालाई पश्चिमको डडेलधुरासँग जोड्ने सडकका रूपमा लिइएको यो सडक निर्माण भएको लामो समयसम्म पनि स्तरोन्नति हुन नसक्दा जिल्लाको पश्चिम क्षेत्रका नागरिक अझै पनि धुलाम्मे र हिलाम्मे बनेर यात्रा गर्न बाध्य छन्। बर्खामा हिलाम्मे र हिउँदमा धुलाम्मे हुने यो सडकमा कैयौँले अनाहकमा ज्यानसमेत गुमाएका छन्। साँघुरो सडक, खाल्डाखुल्डी र खोलाका कारण जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता रहेको छ ।

तपाईको प्रतिक्रिया