
सुर्खेत । सुर्खेतमा शनिबार प्रथम कर्णाली हाफ म्याराथन प्रतियोगिता आयोजना हुने भएको छ । शुक्रबार आयोजित पत्रकार सम्मेलनमा म्याराथनको तयारी पुरा भएको आयोजकले जानकारी दिएको छ ।
कर्णालीमै पहिलोपटक म्याराथन आयोजना भएकाले स्थापित धावकलाई प्रोत्साहन गरिएको आयोजक रेस नेपालका अध्यक्ष टीएस ठकुरीले जानकारी दिए । कर्णाली हाफ म्याराथनमा दौडन राष्ट्रिय रूपमा स्थापित धावकहरूले नाम दर्ता गराइरहेका छन् ।
कर्णाली हाफ म्याराथनलाई क्रमिक रूपमा दौड संस्कृतिको विकाससँगै पर्यटन प्रवर्द्धन गराउने इभेन्टका रूपमा स्थापित गराउने आयोजकको योजना छ । आसन्न १० औँ राष्ट्रिय खेलकुदलाई प्रवर्द्धन गर्ने गरी कर्णाली हाफ म्याराथन आयोजना रेस नेपालले जनाएको छ । कर्णाली हाफ म्याराथनमा केएल दुगड ग्रुपको ज्ञान खाद्यान्नले टाइटल स्पोन्सरका रूपमा सहकार्य गर्ने भएको छ ।
कर्णाली प्रदेश खेलकुद विकास परिषद्सँगको आर्थिक सहयोग साझेदारी तथा अन्य स्थानीय पालिका एवं निजीक्षेत्रको सहयोगमा कर्णाली हाफ म्याराथन हुन लागेको हो । कर्णाली हाफ म्याराथनका लागि सम्पूर्ण संयोजनको जिम्मेवारी वीरेन्द्रनगर नगरपालिकाका निवर्तमान प्रमुख देवकुमार सुवेदीलाई दिइएको रेस नेपालका अध्यक्ष ठकुरीले बताए । त्यसैगरी, कुमारशमशेर थापालाई सदस्य–सचिवको जिम्मेवारी प्रदान गरिएको छ ।

नेपालीरैबार । २०८१ बैशाख २८, शुक्रबार