सुर्खेत। कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले सुर्खेत विमानस्थल विस्तारका सन्दर्भमा संघीय सरकारले विस्तारको जिम्मा लिए प्रदेशको भाग बहन गर्न तयार रहेको बताएका छन् । आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति, कार्यक्रम तथा बजेट निर्माणको पूर्वसन्ध्यामा मंगलबार पत्रकारहरुसँगको छलफलमा मुख्यमन्त्री कँडेल सो कुरा बताएका हुन् ।
कँडेलले आगामी संघीय सरकारको नीति, कार्यक्रम तथा बजेटमा अर्थमन्त्री वर्षमान पुन समक्ष कर्णालीका ठुला आयोजना कर्णाली करिडोर, भेरी करिडोर, कालिकोट–मुगु सडकलाई राष्ट्रिय गौरवको आयोजनाका रुपमा अगाडि नबढाएसम्म कर्णालीलाई दिने बजेटको कुनै अर्थ नहुने व्यहोराको पत्र बुझाई सकेको बताए ।
यस्तै, गेमचेन्जर परियोजनाका रुपमा रहेका सुर्खेत विमानस्थल विस्तार तथा आन्तरिक उडाको प्रत्याभुति, कोहलपुर–सुर्खेत चार लेन सडक विस्तार, १३२ केभी प्रशारण लाइन तथा भेरी बबई डाइर्भसन परियोजना विस्तारको योजना अगाडि बढाउन संघीय सरकारसँग माग गरेको मुख्यमन्त्री कँडेलले बताए ।
छलफलमा मुख्यमन्त्री कँडेलले लामो समयदेखि बन्न नसकेको आमसञ्चार प्रतिष्ठान, रोजगारमुलक मिडिया हाउसलाई दिने भनिएको अनुदान, लोक कल्याणकारी विज्ञापन तथा पत्रकारहरुको वृत्ति विकास लगायतका कार्यक्रमका सन्दर्भमा प्राप्त सुझावका आधारमा अघि बढ्ने बताए । यस्तै उक्त छलफलमा पत्रकारहरुले मुख्यमन्त्री कँडेललाई आगामी बजेटमा विविध कारणले धरासायी बन्दै गएका स्थानीय रोजगार मुलक मिडिया हाउस जोगाउने कार्यक्रम, रुपान्तरणकारी ठुला पूर्वाधार निर्माणका आयोजनासँगै सामाजिक विकासका क्षेत्रमा नीति, कार्यक्रम तथा बजेट केन्द्रित हुनुपर्नेमा सुझाव दिएका थिए ।
नेपालीरैबार । २०८१ जेष्ठ १, मंगलवार