… जब जौकला आँखा देख्ने भइन्

सुर्खेत । जाजरकोटको बारेकोट गाउँपालिका–८, सेपुखोलाकी जौकला बुढा (६०)को एक बर्षअघि दुबै आँखाको ज्योति गुम्यो । उनले बाहिर संसार नदेख्ने भइन् । शारिरिक रुपमा पुर्ण अशक्त उनको ज्योति गुमेपछि निकै पीडा भयो । चार बर्षअघि मात्र उनका हात र खुट्टा नचल्ने भएका थिए । पीडामाथि पीडा थपियो । आँखाको ज्योति गुमेपछि पुर्ण रुपमा अरुको सहारामा बाँच्नुप¥यो, उनलाई । कहिलेकतै लाग्थ्यो, ‘यस्तो जीवन बाँच्नु भन्दा त बरु मरेको भए जाति हुन्थ्यो।’ उनले आँखाको ज्योति पुनः फर्किएला भन्ने कल्पनासम्म पनि गरेकी थिइनन् । टाढाका अस्पताल जाऊँ भन्दा आर्थिक समस्या । अर्कातर्फ एक्लै जान पनि नसकिने । निकै पीडादायिक जीवन गुजारा चलाइरहेकी थिइन्, जौकलाले । यही बेला जाजरकोटकै दल्लीमा आँखा शिविर हुने थाह पाइन् । दल्ली उनको घरबाट झण्डै चार घण्टा बढी पैदल यात्रापछि पगिन्छ ।

आँखाको ज्योति फर्किएपछि आफ्ना श्रीमानसँग खुसी साँट्दै जौकला ।

त्यसपछि उनी आफ्नो दुई नातिनीसँग शिविर स्थानमा आइन । त्यहाँ नेपाल नेत्रज्योति संघ, एकीकृत आँखा कान तथा स्वास्थ्य कार्यक्रम अन्तर्गत निःशुल्क शिविर चलाइएको थियो । राप्ति आँखा अस्पताल दाङका विशेषज्ञ चिकित्सक डा. ज्योति सापकोटासहित उनको प्राविधिक टोली त्यहाँ आएको थियो । उक्त टीमले वैशाख २१ गते र २२ गते गरी जौकलाको दुबै आँखाको सफल शल्यक्रिया गर्न सफल भयो । उनको आँखाको ज्योति फर्कियो, उनी दङ्ग परिन् । उनमा खुसीको सिमानै रहेन् । उनले चिकित्सकतर्फ हेर्दे भनिन्, ‘मैले त सोचेकै थिएन, म आँखा देखुँला भनेर, मेरो लागि त हजुरहरु भगवान बनेर आउनुभयो, धन्यवाद डा.साप !’

आँखा देख्ने के भएकि थिइन्, जौकलाले आफ्ना श्रीमान भक्तबहादुरलाई फोन लगाइहालिन । भनिन्, ‘म आँखा देख्ने भएँ ।’ त्यसपछि उनका श्रीमान भक्तबहादुर दौडेरै शिविरस्थलमा पुगे । भक्तबहादुर भन्छन्, ‘मेरो बुढी मेरो जिन्दगीको प्रेरणाको स्रोत थिइ, आँखा भन्द भएपनि निकै पीडा भयो, आज म निकै खुसी छु ।’ जौकलाले आँखा देखिसकेपछि एउटा स्मृति सुनाइन् । गत कार्तिकमा बारेकोट केन्द्रविन्दु भई गएको भूकम्प । सबै परिवार घरमा सुतेका थिए । भूकम्प आएपछि सवै परिवार दौडेर बाहिर भागे । तर, उनी आँखा नदेख्ने भएकाले बाहिर निस्किन सकिनन् ।

घर बेस्सरी हल्लाएको थाह भएपनि उनी बाहिर निस्किन सक्ने अवस्थामा थिइनन्, किनकि उनको आँखाको ज्योति गुमेको थियो भने हात र खुट्टाहरु चल्दैनथे । उनले त्यो बेलाको अवस्था सम्झिँदै भनिन्,‘यस्तो अवस्थामा बाँच्नुभन्दा बरु भूकम्पले लगेको भए हुन्याछियो ।’ आँखाको ज्योति फर्किएपछि भने उनको सोचाइमा परिवर्तन आएको छ । ‘आज आएर बाहिर संसार देख्नु रहेछर पो त्यो बेला बाँचे छु,’खुसी हुँदै उनले भनिन् । भूकम्पले घर चिराचिरा परेपछि अहिले उनको परिवार अस्थायी टहरामा बसिरहो छन्।

दुर्गममा नेत्रज्योति संघको निःशुल्क सेवा

कर्णालीमा आँखा स्वास्थ्यको अवस्था निकै कमजोर छ । अझ भनौं यहाँका धेरैजसो नागरिक अझैपनि स्वास्थ्य सेवाको पहुँच बाहिर छन्, त्यसमा आँखा स्वास्थ्यको अवस्था निकै कमजोर । यही बेलामा नेपाल नेत्रज्योति संघले कर्णालीका दुर्गम गाउँबस्तीलाई केन्द्रित गरेर एकीकृत आँखा, कान तथा स्वास्थ्य कार्यक्रम गरिरहेको छ । विगत तिन बर्षमा यो कार्यक्रमबाट ८ हजारको मोतियाविन्दुको निःशुल्क सफल शल्यक्रिया गरी गुमाएको आँखाको ज्योति पाएका छन् । साथै कार्यक्रमबाट लाखौं नागरिकले सामान्य उपचार पाएका छन् ।

नेपाल नेत्रज्योति संघ, एकीकृत आँखा, कान तथा स्वास्थ्य कार्यक्रम परियोना व्यवस्थापक मानबहादुर कुवँरका अनुसार यो बर्षमात्रै ३५ सय बढीको शल्यक्रिया गरिएको छ । यस्तै हालसम्म कान सम्बन्धितका ५ सय बढीको शल्यक्रिया भएको उनले बताए । यो बर्ष मात्र ८० जनाको शल्यक्रिया गरिएको छ ।

अस्ट्रेलियन एडका साथ सिवियम ग्लोवल नेपालको आर्थिक सहयोग, शिविरमा प्राविधिक सहयोग राप्ति आँखा अस्पताल दाङ, सुर्खेत आँखा अस्पताल र हिमालयन आँखा अस्पताल पोखराको रहेको छ । कुवँर भन्छन्, ‘कर्णालीमा आँखाको स्वास्थ्य सेवाको पहुच निकै कमजोर छ । आँखा त उत्पादनसँग पनि जोडिन्छ, शिक्षा लगायत सबैसँग जोडिन्छ । त्यसैले सरकारी स्वास्थ्य संस्थाहरुबाट पनि आँखाको उपचार भए धेरै नागरिकहरुले सहजता पाउँछन् ।’

उनका अनुसार यो कार्यक्रम कर्णालीका १० वटै जिल्लामा लागु गरिएको छ । साथै प्राथमिक आँखा उपचार सेवालाई स्थानीय सरकारको व्यवस्थापन र अपनत्वमा रहने गरी नौ वटा प्राथमिक आँखा उपचार केन्द्र खोलिएको पनि उनले बताए । ती उपचार केन्द्रहरु अहिले स्थानीय तहहरुले व्यवस्थापन गरी सेवा प्रदान गरिरहेका छन् । साथै सर्जिकल शल्यक्रिया सेवालाई विस्तार गर्नका लागि जुम्ला र सुर्खेतको गुर्भाकोटमा रहेको आँखा उपचार केन्द्रलाई शल्यक्रिया केन्द्रको रुपमा स्थापना गरिएको कुवँरले बताए ।

तपाईको प्रतिक्रिया