हुम्लाको जिल्ला अस्पतालमा औषधी अभाव हुँदा बिरामी समस्यामा

सुर्खेत। हुम्लाको जिल्ला अस्पतालमा औषधी अभाव हुँदा बिरामीलाई समस्या भएको छ । मौसमी बिरामीको सङ्ख्या बढ्दै जाँदा अस्पतालमा औषधी अभाव हुँदा झन समस्या भइरहेको हो।

पानी नपर्दा यो समय अस्पतालमा बिरामीको चाप बढेको छ । १५ शय्याको जिल्ला अस्पतालमा गत वैशाखदेखि औषधी अभाव हुँदा चिकित्सकले लेखेका औषधी निजी मेडिकलबाट किनेर सेवन गर्न बाध्य भएको बिरामीको गुनासो छ । रुघाखोकी, झापापखालालगायत रोगका औषधी वितरण कक्षमा नपाउने गरेको सेवाग्राहीको गुनासो छ । अस्पतालमा पाइने निः शुल्क औषधीसमेत नभएको खार्पुनाथ गाउँपालिका-३ रायाका धनबहादुर टमटाले गुनासो गरे।

बहिनीको उपचारका लागि दुई दिनदेखि भर्ना भएर अस्पतालमा बसेको भन्दै चिकित्सकले लेखेको औषधी निजी मेडिकलबाट किन्नु परेको उनले बताए। चार हजारसम्मको औषधी निजी मेडिकलबाट किनेको भन्दै अस्पतालमा भिटामिनसमेत नभएको टमटाले गुनासो गरे । अस्पतालको औषधी वितरण कक्षमा जाँदा औषधी नपाएर निजी मेडिकलमा जानुपर्ने बाध्यता रहेको सिमकोट गाउँपालिका-२ ठेहेका झप्री सुनारले बताए।

निजी मेडिकलबाट औषधी किन्न आर्थिक अवस्था कमजोर भएकाले समस्या भइरहेको उनको भनाइ छ । वैशाख यतादेखि अस्पतालमा बिरामीको चाँप बढेको (मेडिकल अफिसर) तथा डाक्टर सुर्जनकुमार सिंहले बताए । उनका अनुसार आइतबार र सोमबार मात्रै ८०-८० जनाले सेवा लिएका छन् । अन्य दिनमा ५० जना भन्दा कम नहुने डा।सिंहले जानकारी दिए । लामो समय हुम्लामा पानी नपर्दा मौसमी बिरामीको चाप थपिँदै आएको उनको भनाइ छ ।

गाउँघरबाट एक-दुई दिनको पैदल हिँडेर सवारी पुगेको ठाउँबाट जिल्ला अस्पतालमा उपचारका लागि बिरामी आउने गरेका उनले बताए । डा।सिंहले भने, “अस्पतालमा औषधीको अभाव छ । इमर्जेन्सी, सघन उपचार कक्ष सेवाका लागि भर्ना भएका बिरामीले समेत उल्टी रोक्ने औषधी नभए गुनासो गरिरहेका छन् ।” बहिरङ् (ओपिडी) मा औषधी अभाव रहेको उनले बताए । अस्पतालमा औषधीको अभाव भएको स्वास्थ्य सेवा कार्यालयका प्रमुख प्रेमबहादुर सिंहले स्वीकार गरे ।

हवाई उडान नभएकाले खरिद गरेर हुम्ला ल्याइने औषधी नेपालगन्जमा थन्किएकाले समस्या भएको उनले जानकारी दिए। अबको एकरदुई दिनमा हवाई उडान सञ्चालन भएमा नेपालगन्ज थन्किएका औषधी ढुवानी भएर यहाँ आइपुग्ने प्रमुख सिंहले बताए ।

तपाईको प्रतिक्रिया