दश महिनामा दश हजार पुगे रारा

सुर्खेत। रारा ताल घुम्न १० महिनामा दश हजार बढी पर्यटक पुगेका छन् । गत साउनदेखि वैशाख मसान्तसम्ममा १० हजार तीन सय ४१ आन्तरिक पर्यटक, ४३ सार्क मुलुकबाट र एक सय ९५ अन्य विदेशी मुलुकका गरी १० हजार पाँच सय ७९ पर्यटकले रारा भ्रमण गरेका छन् ।

रारा राष्ट्रिय निकुञ्ज कार्यालय हुटुका सूचना अधिकारी जयहरि धितालका अनुसार दसैँ,तिहार बिदामा सबैभन्दा धेरै आन्तरिक पर्यटक रारा घुम्न आएका हुन् । यसवर्ष सबैभन्दा धेरै कात्तिक महिनामा तीन हजार चार सय ९२ पर्यटक रारा घुम्न आएका थिए । सबैभन्दा कम साउनमा एक सय २६ जना रारा आएका थिए ।

चालु आवको वैशाख मसान्तसम्म रारा आउने पर्यटकबाट उठाइएको प्रवेश शुल्क, डुङ्गा चढेको शुल्क र अन्य शुल्क गरि निकुञ्जले रु तीस लाख ६३ हजार सात सय ९१ राजस्व सङ्कलन गरेको छ । राजश्व मध्ये रु २५ लाख ३० हजार पर्यटकबाट र बाँकी रु पाँच लाख ३३ हजार सात सय ८१ दण्ड, जरिवाना, काठ दाउरा, लगायतबाट सङ्कलन भएको निकुञ्जले जनाएको छ । गत आर्थिक वर्षमा ११ हजार एक सय ९१ स्वदेशी पर्यटकले रारा भ्रमण गरेका थिए । सार्क मुलुकका २६ र अन्य विदेशी एक सय ८३ पर्यटक रारा घुम्न आएका थिए ।

निकुञ्जले रारा भ्रमणमा आउने आन्तरिक पर्यटकबाट प्रति व्यक्ति एक सय, सार्क मुलुकका पर्यटकबाट प्रतिव्यक्ति एक हजार पाँच सय र सार्क मुलुक बाहिरका पर्यटकबाट प्रति व्यक्ति तीन हजारका दरले प्रवेश शुल्क उठाउने गरेको छ । डुङ्गा चढ्ने प्रति व्यक्ति पाँच सयका दरले शुल्क उठाउने गरिएकोमा २० प्रतिशत निकुञ्जको कार्यालयमा, बाँकी रहेको ८० प्रतिशतमा ४०-४० प्रतिशतका दरले डुङ्गा चालक र मध्यवर्ती क्षेत्र विकास समितिले लिने गरेका छन् ।

रारामा वैशाखदेखि भदौसम्म गर्मी छल्न र हरियालीमा घुम्न, असोजदेखि मङ्सिरसम्म बिदा मनाउन, पुसदेखि चैतसम्म हिउँ खेल्न र हिमालयको दृश्यावलोकन गर्न पर्यटक रारा आउने गर्दछन् ।

सडक र हवाईमार्ग भरपर्दो नहुँदा रारामा अझै पर्यटक आगमन उल्लेख्य रूपमा वृद्धि हुन नसकेको स्थानीयवासीको भनाइ छ । रारा क्षेत्रमा पर्यटकलाई सुविधायुक्त होटल र भरपर्दो सडक नहुँदा पर्यटकले बाटोमा सास्ती खेप्नुपरेको गुनासो गर्ने गरेका छन् । कोभिड-१९ ले थलिएको राराको पर्यटन क्षेत्र यो वर्षको १० महिनामा फस्टाएको हो । रारा घुम्न आउने पर्यटकका लागी जेठदेखि असोजसम्म हरियाली हुने भएकाले विभिन्न प्रजातिका फूलहरुले रारा झनै सुन्दर देखिने गर्छ।

तपाईको प्रतिक्रिया