जेठ १३ देखि रुकुमपश्चिममा पोलियोविरुद्धको खोप सञ्चालन

सुर्खेत। रुकुमपश्चिममा जेठ १३ गतेदेखि बालबालिकालाई लगाइने पोलियोविरुद्धको ‘आइपिभी’ खोप अभियान सञ्चालन हुने भएको छ । उक्त खोप अभियान सफल पार्नका लागि स्वास्थ्य सेवा कार्यालय रुकुमपश्चिमले जिल्ला तथा पालिका स्तरमा विभिन्न छलफलहरू भइरहेका छन् ।

यस बारेमा जिल्ला खोप समन्वय समितिको बैठकले समेत खोप अभियानलाई प्रभावकारी बनाउने निर्णय गरेको । जिल्ला खोप समन्वय समितिको बैठकमा समितिका अध्यक्ष एवम् जिल्ला समन्वय समितिका प्रमुख लुम्बिनी गौतमले खोप अभियानलाई प्रभावकारी बनाउन आवश्यक रहेको बताइन् । उनले यसका लागि जिल्लास्थित सबै पालिका, अस्पताल, स्वास्थ्यचौकी, विद्यालयहरू, सञ्चारकर्मीहरू सबैसँग सहकार्य गरेर अभियान सफल बनाउनुपर्ने बताएका छन् ।

स्वास्थ्य सेवा कार्यालय रुकुमपश्चिमका सूचना अधिकारी जनस्वास्थ्य निरीक्षक कालीबहादुर ओलीका अनुसार जिल्लामा दुई चरणमा खोप अभियान सञ्चालन गरिनेछ । पहिलो चरणको खोप चौरजहारी नगरपालिकामा सञ्चालन हुनेछ । जेठ १३ देखि १८ गतेसम्म चौरजहारीमा खोप अभियान सञ्चालन हुनेछ भने जिल्लाका अन्य पाँच पालिकामा जेठ २० देखि २६ गतेसम्म एकैसाथ खोप अभियान सञ्चालन गरिनेछ ।

सूचना अधिकारी ओलीले जिल्लाभरमा करिब १० हजार १६९ जना बालबालिकालाई खोप लगाउने लक्ष्य रहेको बताए । चौरजहारी नगरपालिकाका एक हजार ९६०, मुसीकोट नगरपालिकाका दुई हजार ३३७, आठविसकोट नगरपालिकाका दुई हजार ४४ जना बालबालिकालाई खोप लगाउने लक्ष्य रहेको छ ।

त्यसैगरी, बाँफिकोट गाउँपालिकाका एक हजार ३१८, त्रिवेणी गाउँपालिका एक हजार ७१ र सानीभेरी गाउँपालिकाका एक हजार ४३९ जना बालबालिकालाई खोप लगाइने सूचना अधिकारी ओलीले जानकारी दिए ।

प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले सबैको सकारात्मक पहलकदमीले खोप अभियान सफल हुने विश्वास व्यक्त गरे । उनले खोपबाट लक्षित वर्गका बालबालिकाहरू छुट्न नहुनेतर्फ सचेत रहन आग्रह समेत गरेका छन् ।

स्वास्थ्य सेवा कार्यालयका अनुसार विद्यालयमा रहेका र विद्यालय बाहिर रहेका बालबालिकाहरू सबैलाई खोप लगाइने छ ।यसका लागि स्वास्थ्य संस्था र विद्यालयमा खोप केन्द्र सञ्चालन हुने छ । जिल्लाभर २९३ वटा खोप केन्द्र, २७८ जना खोप कार्यकर्ता र ३९८ जना स्वयंसेवक परिचालन गरेर यो अभियान सफल पार्ने तयारी स्वास्थ्य सेवा केन्द्रको रहेको छ ।

खोप अभावका कारण २०७३ साल वैशाखदेखि २०७५ असोजसम्म जन्मिएका बालबालकिाहरुले यो खोप नपाएकोले खोप अभियान प्रारम्भ हुन लागेको हो । सबैभन्दा बढी ५ वर्षसम्मका बालबालिका पोलियो भाइरसबाट सङ्क्रमित हुन सक्ने भएकाले अनिवार्य रूपमा पोलियोविरुद्धको खोप लगाउनुपर्ने बताइन्छ ।

तपाईको प्रतिक्रिया