‘फिल्म फर्की फर्की’ जापानमा प्रदर्शन हुदैँ

काठमाडौं। बुद्ध जयन्तीको अवसर पारेर गत बिहीबारबाट सार्वजनिक प्रदर्शनमा आएको फिल्म हो ‘फर्की फर्की’ । फिल्मले नेपालमा राम्रो व्यवसाय गरिरहेको निर्माता बताउँछन् ।

यस्तैमा फिल्मको जापानमा पनि प्रदर्शन हुने भएको छ । फिल्मको आगामी जुन ९ अर्थात जेठ २७ गते जापानको टोक्यो सहरमा रेड कार्पेट प्रिमियर सहित प्रदर्शन हुन लागेको हो । जसमा फिल्मका मुख्य अभिनेता अनमोल केसी समेत सहभागी हुनेछन् ।

अनमोल टोकियोमा हुने मुख्य शोमा सहभागी हुनेछन् । सन् २०१८मा चलचित्र ‘कृ’को रेड कार्पेट प्रिमियरमा सहभागी अनमोल ६ वर्षपछि पुनः जापान जान लागेका हुन् । ‘फर्की फर्की’को प्रिमियरको व्यवस्था भिजोनिया कम्पनीका सुवास लामिछानेले गरेका छन् ।

‘अनमोलको क्रेजको कारण ‘कृ’को प्रदर्शनमा दर्शकको उपस्थिति राम्रो थियो’, लामिछानेले भने ‘त्यो भन्दा बढी दर्शक ‘फर्की फर्की’मा हुनेछन् ।’ सुवासले यसअघि ‘कबड्डी ४’ प्रदर्शन गराउँदा पनि दर्शकको राम्रो सहभागिता थियो ।

पछिल्लो समय राम्रो चलचित्र प्रदर्शन हुँदा जापानमा रहेका दर्शकहरूले साथ दिँदै आएका छन् । ‘फर्की फर्की’ जापानको टोक्यो सहर स्थित नाकानो जिरो हलमा जुन ९ तारिख साँझ ६ :३० बजेबाट प्रदर्शन हुनेछ ।

तपाईको प्रतिक्रिया