सुर्खेत । यतिबेला कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरको बसाइँ निकै सकसपुर्ण छ । अत्यधिक गर्मी, अघोषित विद्युत लोडसेडिङ र खानेपानीको चरम संकटले नागरिकहरु समस्यामा छन् । हिजोआज दैनिक विद्युत सेकेन्डको फरकमा जान्छ भने धारामा पानी कहिले आउने हो कुने ठेगान हुँदैन । आइतबार दिनभर वीरेन्द्रनगरसहित समर्ग कर्णाली विद्युत र संचार विहीन बन्यो ।
शनिबार साँझ आएको हावाहुरीसँगै कर्णालीभर विद्युत, नेपाल टेलिकमको नेट, इन्टरनेट समेत अवरुद्ध भयो । वीरेन्द्रनगर राजधानी हो तर, यहीँ विद्युत जाने वित्तिकै नेपाल टेलिकमको सेवामा समेत समस्या आउने गरेको छ । गर्मीयाम लागेसँगै यतिबेला वीरेन्द्रनगरमा खानेपानीको चरम संकट छ । यो समस्या चैत्र महिना लागेसँगै सुरु भएपनि जेठ महिनापछि अझ थप चुलिएको हो ।
प्रयोगमा ल्याइएका मुहानमा पानीको सतह घट्दो छ । हिजोआज धारामा कुन दिन पानी आउने हो पत्तै हुन्न । कतिपय धाराहरुमा हप्तौं दिनसम्म पनि पानी नआउँदा स्थानीयहरुलाई निकै समस्या भएको छ । वीरेन्द्रनगर–१, बांगेसिमलकि शान्ता शाहीले हिजोआज धारामा आउने पानीको प्रतिक्षा गर्न नै छाडिसकिन । उनी भन्छिन्, ‘राजधानी हो सुबिधा होला भन्छन्, यहाँ त प्यास मेट्ने पानी नपाइँदो रहेछ । गाउँमा हुँदा (दैलेख) हुँदा पानीको कुनै समस्या हुन्थेन, जतिबेला चाहियो मुलको चिसो पानीले तिर्खा मेट्न पाइन्थ्यो ।’
उनको परिवार वीरेन्द्रनगरका घर बनाई बसेको केही बर्ष भयो । धारा जडान भएकाले कुवा नबनाएको तर, धारामा पानी नआउँदा निकै समस्या भइरहेको उनले बताइन् । ‘एक त पानी नै आउँदैन, आएको भएपनि थोरै मात्रामा आउँछ,’उनी भन्छिन्, ‘त्यसरी जम्मा गरेको पानी सबै परिवारलाई २÷३ दिन पनि पुग्दैन । नुहाउने र सरसफाईका लागि त पानी नै हुन्न ।
राजधानी बनेसँगै वीरेन्द्रनगरको जनघनत्व दिनप्रतिदिन बढ्दो छ । जसका कारण सबै घरहरुमा धारा जडान हुन सकिरहेको छैन । धारा जडान नभएका नागरिकले इनार (कुवा) को पानी प्रयोग गर्छन । तर, यो पटकको लामो खडेरीका कारण कुवा नै सुक्ने समस्या बढीरहेको स्थानीयहरु बताउँछन् ।
वीरेन्द्रनगर, भैरवस्थानकी बसन्ती थापाको घरमा धारा जडान हुन सकिरहेको छैन । उनको भएको कुवामा पानी आउन छाडिसक्यो । अघिल्लो बर्षसम्म त कुवा सुक्थेन, यो पटक वैशाख पहिलो हप्तादेखिनै कुवा सक्न थालेको उनले बताइन् । अहिले अरुको कुवामा पानी भर्न जानुपर्ने स्थिती आएको उनको भनाइ छ ।
‘एकातिर चर्को गर्मी हुन्छ, पानी भएको भए मज्जाले नुहाउन हुन्थ्यो, शितलता हुन्थ्यो,’दैलेख घर भई वीरेन्द्रनगरमा बस्दै आएका विमला विक भन्छिन्, ‘खानेपानी नै हुन्न । बडो गाह्रो छ हजुर, यहाँको बसाइँ ।’
सुर्खेत उपत्यकामा खानेपानीको समस्या अहिले मात्र होइन्, विगतदेखिनै हो । राजधानी बनेसँगै जनघनत्व ह्वात्तै बढ्यो । गणना भएको र बाहिरबाट आई बसोबास गर्ने सबै नागरिकहरुको संख्या करिब ३ लाख बढी रहेको अनुमान छ । अहिले भइरहेका मुहानको पानी आधा जनसंख्यालाई पनि पुग्दैन । सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाका अनुसार ३८ हजार बढी घरधुरी (अहिले बढेको हुनसक्छ) मध्ये अहिलेसम्म २० हजार ३५० घरधुरीमा धारा जडान छ । करिब ४ हजार दुई सय बढी घरधुरीले धाराका लागि आवेदन दिएपनि जडान कार्य हुन सकेको छैन । साढे ८ सय धारा जडान गर्ने सुचीमा रहेका छन् ।
धारा जडान भएका घरधुरीका लागि मात्रै दैनिक ३७४ लिटर प्रति सेकेन्ड पानी आवाश्यक पर्छ । दैनिक १५७ लिटर प्रति सेकेन्ड खानेपानी आपुर्ति हुने स्रोतहरुबाट हाल खडेरीका कारण जम्मा ५२ लिटर प्रति सेकेन्ड मात्र खानेपानी आपुर्ति भएका कारण खानेपानीको संकट चुलिएकोे खानेपानी उपभोक्ता संस्थाका ईञ्जिनियर बालाराम तिवारी बताउँछन् ।
हाल झुप्रा खोला, खरिखोला, खोर्के खोला तथा बुलबुले काठकुवा खोलाबाट पानी आपुर्तिको व्यवस्था मिलाइएको छ । तर, ती मुहानमा लामो खडेरीका कारण पानी घट्दै जाँदा उपत्यकामा पानीको चरम अभाव भएको हो । सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाबाट प्रयोगमा ल्याएका खानेपानीका स्रोतहरु हाल भैरहेको लामो सुख्खा खडेरीका कारण घट्न गई खानेपानी वितरण कार्य प्रभावित बनेको छ । तिवारीका अनुसार स्रोतबाट उपलब्ध पानीलाइ यथोचित ब्यवस्थापन गर्दै हाल संस्थाले ६ दिनको फरकमा १ घन्टा वितरण गर्नेगरि सम्पूर्ण एरियाको वितरण तालिका लागु गरिएको छ ।
संस्थाले नयाँ वितरण तालिका लागु गरेपनि त्यो समान हुन नसकेको स्थानीय बताउँछन् । कतिपयको धारामा ४–५ दिनको फरकमा आउँछ भने कतिपयको १० दिनको फरकमा पनि पानी आउँदैन । उपत्यकाको खानेपानी समस्या समाधानको एउटै उपाय–भेरीको पानी वीरेन्द्रनगर ल्याउने नै हो । लामो समयदेखि चर्चामा रहेको बहुचर्तित भेरी लिफ्ट परियोजना अहिलेसम्म अघि बढ्न सकिरहेको छैन । तीन दशकपछिको जनसंख्यालाई लक्षित गरी अघि बढाइएको यो परियोजनाको टेण्डर प्रक्रिया पुरा भई काम अघि बढेको वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख निलकण्ड खनाल बताउँछन् ।
दिक्क लाग्दो विद्युत
अर्कातिर यहाँ अनियमित विद्युतले गर्दा नागरिकहरु वाक्क भइसके । अघोषित लोडसेडिङले गर्दा नागरिकहरु दिक्क छन् । ‘हावा चल्यो कि विद्युत् गायब’ हुन्छ, यहाँ । यो समस्या विगत तीन दशकदेखिको हो ।
विशेषगरी विद्युत अनियमित र ‘लो–भोल्टेज’ले प्रदेश राजधानी वीरेन्द्रनगरको बसाइँ निकै सकसपुर्ण रहेको नागरिकहरु बताउँछन् । ‘एक त विद्युत आउने–जाने ठेगान हुन्न, अर्कातिर विद्युत हुँदा पनि पंखा घुम्दैन, मोबाइल चार्जर हुँन्न,’तातापानी बस्दै आएकी दैलेखकी रञ्जना शाही भन्छिन्, ‘राजधानी मै यस्तो अवस्था भएपछि अन्त के होला ?’ कर्णालीमा आउने लाइन कोहलपुर–सुर्खेत ३३ केभी हो । निकै पुरानो संरचना भएका कारण लोड पर्नासाथ विद्युत् प्रवाह अवरुद्ध हुने गर्दा उद्योगी, व्यवसायी लगायत सबै क्षेत्रलाई समस्या भइरहेको छ । विद्युत आएपनि निकै ‘लो–भोल्टेज’ आउँछ ।
अनियमित विद्युत्को विषयमा अदालतमा मुद्धा मामिलादेखि पटक–पटक आन्दोलन पनि नभएका होइनन् तरपनि कर्णालीवासीले अनियमित विद्युतको मारबाट मुक्ति पाएका छैनन् । अहिले सञ्चालन भइरहेको ३३ केभी प्रसारण लाइन ०४५ सालमै विस्तार भएको संरचना हो । अहिले जीर्ण भइसकेको यही लाइनबाट कर्णालीका अन्य जिल्लामा विद्युत् सेवा विस्तार भएको छ ।
सबै जिल्लाको प्रमुख केन्द्रविन्दु भनेको कोहलपुर–सुर्खेत ३३ केभी लाइन नै हो । यसको एउटा क्षेत्रमा समस्या आयो भने बाँकी सबै जिल्लामा विद्युत अवरुद्ध हुने गरेको छ । पुरानो तथा जीर्ण संरचनाका कारण विस्तारै हावा चल्दा पनि विद्युत पोल ढल्ने हुन्छ । अर्को थोत्रा ट्रान्सफर्मर र पुराना संरचनाका कारण विद्युत सेवामा समस्या आउने गरेको प्राधिकरणले बताउने गरेको छ ।
सुर्खेत वितरण केन्द्रका मात्रै ६० हजार उपभोक्ता छन् भने समग्रमा करिब १० मेगावाट बराबरको लोड धानिरहेको छ यो, लाइनले । सबै जिल्लाको लोड कोहलपुर–सुर्खेत मुख्य लाइनमा पर्ने हुँदा ‘लो–भोल्टेज’ को समस्या हुने गरेको विद्युत प्राधिकरण सुर्खेतका सुचना अधिकारी बेनी नेपालीले बताए ।
अर्को समस्या भनेको गर्मी बढेपछि लोड बढ्नु हो । गर्मी बढ्यो, सबैले पङ्खा, एसी चलाउँछन्, अनि एक्कासी लोड बढेका कारण विद्युत अवरुद्ध हुने गरेको छ ।
वीरेन्द्रनगरमा भइरहेको विद्युतको समस्या केही रुपमा हल गर्न कैलालीको चिसापनी हुँदै पश्चिम सुर्खेतमा विस्तार भएको ३३ केभी विद्युत लाइनले सक्ने देखिन्छ । तर बराहताल गाउँपालिका स्थानीयको विरोधका कारण समस्या भइरहेको छ । त्यहाँ गाढीएका कतिपय विद्युत पोलहरु स्थानीयले उखालेर फाल्दिएका छन् । यो विषयमा छलफल भइरहेको नेपालीले बताए ।
प्रचण्ड गर्मीले विद्यालय बन्द
अत्यधिक गर्मी बढेपछि वीरेन्द्रनगरका विद्यालयहरूमा बिदा दिइएको छ । आइतबारदेखि शुक्रबारसम्म गर्मी बिदा दिइएको हो । अत्यधिक गर्मी बढेपछि बालबालिकाहरूको स्वास्थ्यमा समस्या देखिएको र शिक्षण सिकाइको वातावरण प्रतिकूल भएको भन्दै बिदा दिइएको नगरपालिकाले जनाएको छ । नगरपालिकाका उपसचिव धीरेन्द्रप्रसाद शर्माले अहिले दिइएको गर्मी बिदा वर्षे बिदाबाट कट्टी हुने गरी पठनपाठन बन्द गर्न आग्रह गरिएको बताए ।
साथै सामुदायिक विद्यालयहरूमा सञ्चालन हुने योग तथा ध्यान कक्षा, सङ्गीतसँग सम्बन्धित आधारभूत सीप विकास कक्षा र मनोसामाजिक परामर्श कक्षालाई विद्यालय, विद्यार्थी र मौसम अनुकूलको समय मिलाएर सम्बन्धित संस्थाहरूसँग समन्वय गरी सञ्चालन गर्न पाइने छ । चिकित्सकहरूले यस्तो प्रचण्ड गर्मीमा विद्यालय बन्द गर्नुपर्ने सुझाव दिइरहेका छन् ।
विकल्प एउटै—१३२ केभी
अहिले भइरहेको समस्या समाधानको एउटै उपाय हो, १३२ केभी प्रसारण लाइन विस्तार । अहिले भइरहेको ३३ केभीको संरचनामा विद्युतको समस्या समाधान हुने सम्भावना छैन । १३२ केभीको काम सुरु भएको लामो समय भइसक्दा पनि अहिलेसम्म प्रसारण लाइनको काम सम्पन्न हुन सकेको छैन । २०४६ सालदेखिनै यो योजना अघि सारिएको हो तर यसको ०७६ बाट मात्रै सुरु भएको हो ।
यद्यपि यो आयोजनामा अवरोध नै अवरोधले ढिलाइ भएको छ । आयोजना कोहलपुर सव–स्टेसनबाट प्रारम्भ भई सुर्खेत, वीरेन्द्रनगरस्थित प्रस्तावित सव–स्टेसनमा गएर टुङ्गिने छ । प्राधिकरणका अनुसार आयोजनाको लम्बाई करिब ५१ किलोमिटर हुनेछ भने डबल सर्किटको हुनेछ । यस्तै एंगल टावर २६ वटा रहने छन् भने आयोजनामा कुल टावरको संख्या एक सय ४५ वटा रहने बताइएको छ । यो आयोजना बाँके, बर्दिया राष्ट्रिय निकुञ्ज भएर सुर्खेत जोडिने छ ।
अहिले बाँकेको बनियाभार र गाभर क्षेत्रमा अवरोध भइरहेको छ । त्यहाँका स्थानीयले आफ्नो गाउँबस्तीको बिचमा प्रसारण लायन निर्माण गर्न लागेको र गाउँमा समस्या हुने भन्दै निर्माणमा अवरोध गर्दै आएका छन् । कामका ढिलाई हुनुको अर्को कारण बाँके र बर्दिया राष्ट्रिय निकुञ्जको रुख कटानको काम हो ।
ईआईए प्रतिवेदन अनुसार प्रसारण लाइनको ७०.५४६ भाग वनको क्षेत्र, १५.१३५ खेतीयोग्य जमिन, २.२६५ बाँझो जमिन र ११.०६५ अन्य भागले ओगटेको छ । लाइन विस्तारका लागि १३ हजार बढी रुख कटान गर्नुपर्ने छ । त्यसमध्ये सुर्खेतमा ६ हजार ८८०, बर्दियामा तीन हजार ३२०, बाँकेमा २ हजार ९१९ बराबर रुख काट्नुपर्ने देखिन्छ । यद्यपि अहिलेसम्म रुख कटानको अनुमति प्राप्त हुन नसकेको आयोजनाले जनाएको छ । विगत तीनबर्षदेखि रुख कटानका लागि प्रक्रिया पुरा गर्ने काम भएपनि अहिलेसम्म रुख काट्ने आदेश पाइसकेको छैन ।
एक अर्बभन्दा बढी लागत अनुमान रहेको यो आयोजनाको अहिले ठेकेदार कम्पनी आरएस इन्फ्राप्रोजेक्टले ७० करोड रुपैयाँ लागतमा काम गरिरहेको छ । यो कम्पनी भारतीय हो । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले केही दिनपहिला १३२ केभी विधुत् प्रसारण लाइन विस्तारमा भएको समस्या समाधानका लागि सबै क्षेत्रबाट संघीय सरकारलाई दबाब दिन आह्वान गरेका थिए । विद्युतका अधिकारीहरुसँग छलफल समेत गरेका थिए, कँडेलले ।
– सुर्खेतबाट प्रकाशित प्रदेश रैबार साप्ताहिकले समाचार प्रकाशित गरेको छ ।
नेपालीरैबार । २०८१ जेष्ठ २२, मंगलवार