
काठमाडौं। टी-२० विश्वकप अन्तरगत नेपाल र बंगलादेश विरूद्धको म्याचमा रोहित पौडेललाई गलत तरिकाले हात लगाउने बंगलादेशी बलरलाई आईसीसीले कारबाही गरेको छ। खेलमा म्यान अफ द म्याचसमेत बनेका फास्ट बलर तान्जिम हसन सकिबलाई आचारसंहिता तोडेको आरोपमा आईसीसीले कारवाही गरेको हो ।
नेपालको इनिङको तेस्रो ओभरमा तान्जिमले नेपाली कप्तान रोहित पौडेलसँग नोकझोक गरेका थिए । उनले रोहितको शरीरमा हात लगाएकोसमेत पाइएपछि कारवाही भोगेका हुन् ।
तान्जिमलाई म्याच फीको १५ प्रतिशत जरिवाना गरिएको छ । आईसीसीको खेलाडी आचारसंहिताको धारा २।१२ अनुसार अन्तर्राष्ट्रिय खेलमा कुनै पनि खेलाडीले गलत तरिकाले विपक्षी खेलाडीलाई शरीरमा छुन पाउँदैन । अन फिल्ड अम्पायर असन राजा र साम नोगाज्स्कीको सिफारिसमा थर्ड अम्पायर जयरमन मदनगोपाल र फोर्थ अम्पायर कुमार धर्मसेनासमेत सहमत भएपछि कारवाही भएको हो ।
तान्जिमले आफ्नो गल्ती स्वीकार गरिसकेका छन् । उनले आफूलाई गरिएको सजाय पनि स्वीकारेकाले औपचारिक सुनुवाइ गर्नु नपरेको आइसीसीले जनाएको छ ।
खेलपछिको प्रेसमिटमा नेपाली कप्तान पौडेललाई यो घटनाको विषयमा पत्रकारले सोधेका थिए । पौडेलका अनुसार तान्जिमले उनलाई आँखा तरेर ‘हिट मी’ भन्दै उक्साउन खोजेका थिए । त्यसपछि आफूले पनि ‘बल मी’ भनेर जवाफ दिएको उनको भनाइ छ ।
रोहितले तान्जिमको बलिङको तारिफसमेत गरेका थिए ।
‘उहाँले राम्रो ठाउँमा बल फ्याँक्नुभयो र हामीलाई कठीन प्रश्नहरू सोध्नुभयो’ रोहितले भनेका थिए ।
दुई खेलाडीबीचको नोकझोक टेलिभिजन लाइभमा पनि देखिएको थियो । तान्जिमले हातै हालेर रोहितलाई धकेल्न खोजेको देखिएको थियो ।
त्यसलगत्तै तान्जिमको बलमा आक्रामक सट खेल्न खोज्दा रोहित आउट भए । खेलमा तान्जिमले चार ओेभरमा ७ रन मात्र खर्चेर ४ विकेट लिएपछि नेपालको ब्याटिङ धराशयी बनेको थियो ।

नेपालीरैबार । २०८१ असार ५, बुधबार