
काठमाडौं। आइसिसी टी-२० विश्वकपमा भारतले बङ्गलादेशलाई ५० रनले हराएको छ । सुपर आठअन्तर्गत एन्टीगुवास्थित सर भिभिएन रिचार्ड्स स्टेडियममा शनिबार राति भएको खेलमा भारतले बङ्गलादेशलाई ५० रनले हरायो ।
सुपर आठमा लगातार दोस्रो जितसँगै भारतले सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ । अघिल्लो खेलमा भारतले अफगानिस्तानलाई ४७ रनले हराएको थियो ।
जितसँगै सुपर आठको समूह ‘ए’ मा रहेको भारत चार अङ्कसहित शीर्षस्थानमा छ । एक खेलबाट दुई अङ्क बनाएको अष्ट्रेलिया दोस्रो स्थानमा छ । लगातार दोस्रो हार खेपेको बङ्गलादेशको सेमिफाइनल पुग्ने सम्भावना कमजोर बनेको छ । पहिलो खेलमा हार खेपेको अफगानिस्तान पनि अङ्कबिहिन छ ।
जितका लागि भारतले दिएको एक सय ९७ रनको लक्ष्य पछ्याएको बङ्गलादेश निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा एक सय ४६ रनमा समेटिएको थियो ।
बङ्गलादेशका लागि कप्तान नाज्मुल हसन सान्टोले सर्वाधिक ४० रन बनाए । यस्तै तान्जिद हसनले २९, ऋषाद होसेनले २४, लिटन दास र महमुदुल्लाहले समान १३र१३ तथा साकिब अल हसनले ११ रन बनाए।
बलिङमा भारतका कुलदीप यादवले तीन विकेट लिए। अर्शदिप सिंह र जसप्रित बुम्राहले समान दुई दुई तथा हार्दिक पाण्डेयले एक विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा एक सय ९६ रन बनाएको थियो ।
भारतका लागि हार्दिक पाण्डेयले सर्वाधिक ५० रन बनाए । यस्तै विराट कोहलीले ३७, ऋषभ पन्तले ३६, शिभम् दुबेले ३४ र कप्तान रोहित शर्माले २३ रन जोडे ।
बलिङमा बङ्गलादेशका तान्जिम हसन सकिब र ऋषाद होसेनले दुई दुई विकेट लिए। साकिब अल हसनले एक विकेट झारे ।

नेपालीरैबार । २०८१ असार ९, आईतवार