काठमाडौं। हालैका दिनमा नेपाल, भारत र बङ्गलादेशमा बाढीले ठुलो असर पारिरहेको छ। बाढीका कारण कयौँको मृत्यु भएको छ भने दसौँ लाख मानिसहरू प्रभावित भएका छन् । बृहत् स्तरमा उद्धार कार्य चलिरहेको छ । हजारौँ मानिस आश्रयस्थलमा बसिरहेका छन् । ब्रम्हपुत्र र कोशी समेतका ठुला नदीहरूमा भारी वर्षाका कारण ठुलो बाढी आएको छ । मनसुनको समयमा दक्षिण एसियामा बाढी र पहिरो नौलो कुरा भने होइन ।
यतिबेला वर्षभरि पर्ने वर्षातको ९० प्रतिशत पानी यति बेला नै बर्सिन्छ । तर हालैका वर्षहरूमा जलवायु परिवर्तनका कारण यो समस्या निकै बढेको विज्ञहरू बताउँछन् । सप्ताहन्तमा नेपालमा बाढीका कारण १४ जनाभन्दा बढीको मृत्यु भएको छ । मुख्य राजमार्गहरू पहिरोले अवरुद्ध बनेका छन् भने केही पुलहरू बाढीले बगाएको छ । यो वर्षको मनसुनका कारण अहिलेसम्म नेपालमा ४० जनाभन्दा धेरैको ज्यान गएको अधिकारीहरूको अनुमान छ ।
भारतको आसाम राज्यमा बाढीका कारण २४ लाख मानिसहरू प्रभावित भएका छन् भने मध्य मे यता २६ जनाको मृत्यु भइसकेको छ । थप मुसलधारे वर्षा हुने र ब्रम्हपुत्रमा पानीको बहाव बढ्ने भन्दै अधिकारीहरूले सतर्क रहन चेतावनी दिएका छन् । बाढीका कारण असाममा ४ ओटा एकसिंगे गैँडा र कयौँ मृग र अन्य जनावरहरू मरिसकेका छन् ।
पशुको मृत्युको आधारमा यो हालैको वर्षयताकै सबैभन्दा खराब बाढी भएको विज्ञहरूले बताइरहेका छन् । उता, बङ्गलादेशमा पनि बाढीका कारण २० लाख मानिसहरू प्रभावित भएको बताइएको छ । बाढीसम्बन्धी घटनामा कम्तीमा ८ जनाको मृत्यु भएको छ । ब्रह्मपुत्र नदीमा आएको बाढीका कारण बङ्गलादेशको एक चौथाइ जिल्लाहरू डुबानमा परेका छन् ।
नेपालीरैबार । २०८१ असार २४, सोमबार