बाढीले खोलाको पुल बगाउदा सडक अबरुद्ध

सुर्खेत। कर्णाली करिडोर आन्तरिक यातायात सेवा अवरुद्ध भएको छ । बिहीबार बेलुकाबाट लगातार वर्षा भइरहेकाले ठाउँ–ठाउँमा गएको पहिराका कारण यातायात सेवा बन्द भएको हो ।

वर्षाको कारण सबैभन्दा पहिले सिमकोट–हिल्सा सडकको नाम्खा र सिमकोट गाउँपालिकाको सिमाना हेक्पा खोलामा निर्माण गरिएको काठेपुल बाढीले बगाएपछि सडक अवरुद्ध भएको थियो । प्रहरी निरीक्षक नरेन्द्र चन्दले आइतबार बिहान नाम्खा गाउँपालिका –५ को नारा लेकमा २० मिटर सडकलाई पहिरोले क्षति गरेपछि यारी–हिल्सा खण्डको सडक बन्द भएको बताए।

प्रहरी निरीक्षक नरेन्द्र चन्दका अनुसार च्याछरा खण्डमा पनि पहिरोले सडक भत्किएको छ । यता नियमित सञ्चालन भइरहने सिमकोट खार्पु खण्डको सडक पनि आइतबारदेखि बन्द भएको छ । यो खण्डमा पनि ठाउँ–ठाउँमा पहिरो गएका कारण सडक बन्द भएको छ । त्यस्तै, सर्केगार्ड गाउँपालिका –४ को कालामुडामा गएको पहिरोको कारण सर्केगार्ड खार्पुनाथ सडक खण्डको कर्णाली करिडोरको सडक पनि बन्द भएको छ ।

त्यसैगरी सलीसल्लाबाट कवाडीको सडक पनि सर्केगार्ड गाउँपालिका –१ को खच्चामा पहिरो गएको कारण सडक अबरुद्ध भएको छ। त्यसैगरी ताँजाकोट गाउँपालिकाको पुइमा खोलामा पनि बाढीले सडक अवरुद्ध गरेको छ ।

प्रहरी निरीक्षक चन्दले आइतबारदेखि कर्णाली करिडोरको हुम्ला खण्डको कुनै सडक सञ्चालनमा आउन नसकेको बताए। त्यसैगरी आन्तरिक सडक पनि सुचारु नभएको उहाँको भनाइ छ । सिमकोट बरगाउँ, ठेहे, दोजाम सडक पनि बन्द छ । कच्ची सडक र त्यसमाथि चार दिन लगातार वर्षा भएका कारण सडक हिलाम्मे भएको छ ।

तपाईको प्रतिक्रिया