बेलिब्रिजले जोडिएको पालिका

सुर्खेत। जिल्लाको महावै गाउँपालिका कर्णाली राजमार्गसँग प्रत्यक्ष जोडिएको छ । महावै गाउँपालिका–५ र खाँडाचक्र नगरपालिका–८, सेरावाडाको तिला नदीमाथि बेलिब्रिज बनेपछि महावै गाउँपालिका अब राजमार्गसँग जोडिएको हो ।

महावै गाउँपालिकालाई कर्णाली राजमार्गसँग जोड्नका लागि कर्णाली प्रदेश सरकारको सहयोगमा सेरावाडामा बेलिब्रिज पुल निर्माण भएको हो ।

लामो समयको प्रयासपछि कर्णाली प्रदेश सरकारको लागतमा भौतिक पूर्वाधार विकास कार्यालय कालीकोटले महावै गाउँपालिकालाई राजमार्गसँग जोड्न ठेक्का आह्वान गरेको थियो । गाउँमा सडक विस्तार भए पनि राजमार्गबाट प्रत्यक्ष जोड्नका लागि तिला नदीमा पुल नहुँदा समस्या हुँदै आएको थियो ।

सरकारले यहाँको समस्यालाई समयमै बुझेका कारणले सेरावाडामा बेलिब्रिज निर्माणको काम सकिएको महावै गाउँपालिका अध्यक्ष खेमबहादुर सिंहले बताए ।

पुलको छेउमा केही चट्टानी भाग छिचोल्न बाँकी रहेकाले छिट्टै सो काम गराउने र कर्णाली राजमार्गसँग सिधा सम्पर्क गर्न सहज हुने विश्वास व्यक्त गरे ।

भौतिक पूर्वाधार विकास कार्यालय कालीकोटका इन्जिनियर लक्ष्मणप्रसाद पाण्डेले असार मसान्तमा काम सक्नुपर्ने मिति भएको र समयमै पुल निर्माण सम्पन्न भएको बताए।

तपाईको प्रतिक्रिया