काठमाडौं । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले युट्युबरहरुलाई संस्थागत विकास गरी जिम्मेवार हुन आग्रह गरेका छन् ।
अनलाइन मार्फत नयाँ सुरु भएका सञ्चार माध्यमका लागि सोमबार गरिएको अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले सामाजिक सञ्जाल युट्युबसहितबाट मिथ्या र एकपक्षीय सूचना छाइरहेको सन्दर्भमा अध्यक्ष बस्नेतले युट्युबरहरुलाई संस्थागत विकास गरी जिम्मेवार हुन आग्रह गरेका हुन् ।
उनले स्वस्थ, मर्यादित, तथ्य र जिम्मेवारपूर्ण पत्रकारिताबिना विकास र समृद्धिको यात्राको संवाहक हुन नसक्ने तर्फ सबै सचेत हुनुपर्ने बताए । देशलाई धनी बनाउन, जनतालाई निराशाबाट मुक्त पार्न अब मिडियाले पत्रकारिताको धार परिवर्तन गर्न जरुरी रहेको उनको भनाइ थियो ।
उनले भने, ‘मिडिया के हो, पत्रकारिता के हो भन्ने थाहा नपाउने प्रवृत्ति पनि देखियो । व्यक्तिगत रुपमा चलेका युट्युबको पनि देश र समाजप्रति जिम्मेवारी हुन्छ । नागरिक दायित्व हुन्छ । मिडियाको रुपमा चल्ने युट्युबले त पत्रकारिताका आधारभूत पक्ष, पत्रकार आचारसंहिताको पूर्णपालना गर्नैपर्छ ।’
उनले हुँदै नभएका कुरा लेखेर, बोलेर, एकपक्षीय आरोप गाली वर्षाएर, कसैको उक्साहटमा परी गलत र मिथ्या सूचना दिनु अपराध हुने बताए ।
प्रेस काउन्सिलले रचनात्मक पत्रकारिता विकास र विस्तारका लागि विभिन्न मिडिया जगतसँग हातेमालो कार्यक्रम गरिरहेको जानकारी दिँदै उनले रचनात्मक पत्रकारिता देश र जनताको पक्षमा हुने बताए ।
काउन्सिलले पत्रकार आचारसंहितालाई प्रभावकारी कार्यान्वयन गर्न अनलाइन र युट्युब माध्यममा कार्यरत पत्रकारलाई नियमित अभिमुखीकरण कक्षा लिँदै आएको छ ।
नेपालीरैबार । २०८१ श्रावण १५, मंगलवार