काठमाडौं। आज मंगलबार र बुधबार देशभर भारी वर्षाको हुने भएको छ । मनसुनको न्यूनचापीय रेखा नेपालनजिक आइपुगेको हुनाले मङ्गलबार र बुधबार दुई दिन देशव्यापी वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार पूर्वी नेपालदेखि सुदूरपश्चिम भेगसम्मै अति भारी र मध्यम वर्षाको क्रम दुई दिन जारी रहने छ ।
विभागको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् शान्ति कँडेलका अनुसार केही जिल्लामा अति भारी वर्षा हुने भएकाले सतर्क रहनुपर्ने छ । अति भारी, भारी र मध्यम वर्षाको वर्गीकरणसहित जारी बुलेटिन अनुसार प्राकृतिक विपत्तिविरुद्ध पूर्वतयारी तथा उद्धार तयारी गर्न सरोकारवाला निकायलाई आग्रह गरेकी छन् ।
महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम र मधेश प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका बाँकी केही स्थानमा अति भारी वर्षाको अनुमान गरिएको छ ।
भारीदेखि अति भारी वर्षाको सम्भावना रहेका ३६ जिल्लामा बाढी, पहिरोलगायतको उच्च जोखिम रहेको महाशाखाले औँल्याएको छ । त्यस्तै वर्षाका कारण बाढी, पहिरो र डुबानको जोखिममा रहेका ३७ जिल्लामा पनि पूर्वतयारी आवश्यक रहेको जनाइएको छ । जसमा उपत्यकाको काठमाडौं, भक्तपुर र ललितपुर जिल्लासमेत रहेको छ ।
रातको समयमा बढी वर्षा हुने भएकाले पनि जोखिम बढ्न सक्ने अनुमान गरिएको मौसमविद्को भनाइ छ। जसकारण सहरी भेग र तराईमा उच्च डुबान बढ्ने, राजमार्ग, हवाई यातायातसमेत प्रभावित हुने भएकाले मौसम सुधार नभएसम्म टाढाको यात्रा नगर्न महाशाखाले अनुरोध गरेको छ ।
नेपालीरैबार । २०८१ श्रावण २२, मंगलवार