सुर्खेत । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा ले सुर्खेतमा ‘क्लोज क्याम्प’ सम्पन्न गरेको छ । कर्णाली प्रदेश स्तरीय २ दिने क्याम्प शनिवार सम्पन्न भएको हो । पार्टीको कर्णाली प्रदेश समितिले आयोजना गरेको सो ‘क्लोज क्याम्प’ विधान संशोधन सुझाव कार्यशाला भएको रास्वपा सुर्खेतका युवा नेता हरि प्रसाद अधिकारीले जानकारी दिए ।
सो कार्यशालामा कर्णाली प्रदेश अन्तर्गतका १० वटै जिल्लाका जिल्ला सभापति र पूर्व प्रदेश पदाधिकारी, बुद्धिजीवी, प्रतिष्ठित व्यापारी प्रदेशभित्र रहेका गाउँ तथा नगरका प्रतिनिधिहरूको सहभागी रहेको उनले बताए । कार्यशालामा करिब एक सय प्रतिनिधि सहभागी रहेका थिए । रास्वपालाई राजनीतिक, वैचारिक एवं साङ्गठनिक रूपमा थप प्रभावकारी बनाउने उद्देश्यले विधान संशोधन गर्न लागिएको र त्यसका लागि सुर्खेतमा सम्पन्न कार्यशाला प्रभावकारी भएको केन्द्रीय प्रतिनिधि तथा प्रतिनिधि सभा सदस्य हरि ढकालले बताए ।
पार्टीले सरकारमा रहेर गरेका राम्रा कामहरूको प्रचार, पार्टीले लिएका असल नीति र सिद्धान्तको अभिलेखीकरण गर्न पार्टीका नेताहरूलाई उनले निर्देशन दिए । सो अवसरमा पार्टीका केन्द्रीय सदस्य विनीता कठायतले कर्णाली प्रदेशमा पार्टीलाई प्रभावकारी रूपमा सञ्चालन गर्न महिलाहरू सक्रिय रहन बताएकी थिइन् । उनले प्रतिनिधिहरूले उठाएका विविध प्रश्नहरूको जवाफ दिएका थिइन् ।
‘क्लोज क्याम्प’मा संसदीय मामिलाको नेतृत्व अधिकारी, विचार समूहको डा. गोविन्द आचार्य, सङ्गठन निर्माणको प्रेम चन्द, लिडरसिप एकेडेमीको इन्जिनियर मानबहादुर शाही, अभियानको पवनराज देवकोटा, मूल्य मान्यताको पुस्तक चन्दले नेतृत्व गर्दै समूहगत निष्कर्ष प्रस्तुत गरेका थिए ।
जसमा जिल्ला समन्वय समिति हटाउनुपर्ने, राष्ट्रिय सभालाई विज्ञहरूको सभाका रूपमा पुनर्संरचना गर्नुपर्ने, समानुपातिक निर्वाचन प्रणालीलाई सुधार गर्नुपर्ने, प्रदेश सरकारको प्रभाकारिता र उपयोगितामा गम्भीर समीक्षा गरेर केन्द्रीय सम्मेलनमा औचित्यको बारेमा बहस गर्ने, सुशासन र भ्रष्टाचार नियन्त्रणका लागि संसद्मा प्रभावकारी भूमिका खेल्नुपर्ने, पार्टीको आगामी अभियान सञ्चालन गर्ने, संवैधानिक नियुक्तिहरु खुल्ला प्रतिष्पर्धाबाट गर्नुपर्ने, जनवर्गीय संगठनहरु नबनाउने, अपांगता र ज्येष्ठ नागरीकमैत्री कामहरु गर्ने, मौलिक हकहरुको कार्यान्वयनका लागि केन्द्रमा दबाब सिर्जना गर्ने जस्ता सुझावहरू प्रस्तुत भएका छन् ।
यसै गरी प्रदेश र पालिका कमिटीहरू सानो आकारको बनाउनुपर्ने, केन्द्रीय कमिटी १२१ सदस्य बनाउनुपर्ने, जनजीविकाको विषयमा केन्द्रीय कमिटीमा छलफल गरी पार्टीले ठोस रूपमा किसान र जनताको पक्षमा काम गर्ने समूहगत छलफलको निष्कर्षलाई एकीकृत गरी केन्द्रीय समितिमा बुझाइने रास्वपा सुर्खेतका नेता अधिकारीले बताए ।
नेपालीरैबार । २०८१ श्रावण २७, आईतवार