युवा दिवसमा कर्णाली प्रदेश सरकारलाई युवाहरुको प्रश्नै प्रश्न

सुर्खेत । वीरेन्द्रनगरमा सोमबार आयोजित एक कार्यक्रममा अधिकारकर्मी ललिता विश्वकर्माले कर्णालीका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीलाई प्रश्न गरिन । ‘कर्णालीको जनसंख्याको ठुलो हिस्सा ओगट्ने युवामैत्री नीति अझै पनि प्रदेश सरकारले बनाउनतर्फ ध्यान दिएको छैन,’ उनले भनिन्, ‘युवाहरुलाई छाडेर तपाईँहरुले कस्तो खालको समृद्धिको यात्रा तय गर्नु भएको हो ? आज दिनदिनै युवाहरु अवसर पाएनौ भन्दै विदेशतर्फ आकर्षित भइरहेको अवस्था छ ।

युवालाई क्षमतावान बनाउनतर्फ ध्यान दिइएको छैन । यस्तो अवस्थामा युवाले महशुस गर्ने गरी कस्तो योजना तपाईँले बनाउनु भएको छ । यसको जवाफ चाहन्छु ।’ अन्तराष्ट्रिय युवा दिवस २०२४ को अवसरमा आयोजित कर्णाली प्रदेशस्तरिय युवा संवाद कार्यक्रममा विश्कर्माले युवालाई हेर्ने राज्यको दृष्टिकोण परिवर्तन हुन नसक्दा युवामा बितृष्णा पैदा हुँदै जान थालेकाप्रति बेलैमा सचेत रहनुपर्नेमा जोड दिइन । यस्तै सुर्खेतकी रोशनी ढकालले अपाङ्गता भएका व्यक्तिलाई राज्यले उचित संरक्षण गर्ने नीति अवलम्बन नगर्दा हरेक अवसरबाट बञ्चित हुनुपरेको दुखेसो पोखिन ।

दृष्टिविहिन अपङ्गतामा रहेकी ढकालले अपाङ्गता भएका व्यक्तिको मनोबल त्यसै पनि कमजोर हुने तथा यसमा राज्यले गर्ने व्यवहारले अपहेलित हुनुपरेको बताइन । ढकालले अपाङ्गता भएका व्यक्तिहरुलाई आरक्षणसँगै प्रदेश सरकारले रोजगारीको ग्यारेण्टी गर्नुपर्ने बताइन । दैलेखको महावु गाउँपालिकाका हरिबहादुर शाहीले दिनदिनै कर्णालीबाट बिदेशिने युवालाई रोक्न प्रदेश सरकारले प्रभावकारी योजना अझैसम्म पनि ल्याउन नसक्नु बिडम्बना रहेको बताए ।

कर्णाली धार्मिक, सांस्कृतिक तथा पर्यटकिय दृष्टिकोणले ठुलो सम्भावना बोकेको क्षेत्र भएपनि यसको प्रवद्र्धनमा युवालाई लगाउनतर्फ सरकारले ध्यान दिनुको साटो उल्टै युवालाई निराशातर्फ धकेलि रहेको बताए । यस्तै दैलेखका पुष्कर खड्काले प्रदेश सरकार स्थापना भएको लामो समयसम्म पनि युवा परिषद् गठन गर्न नसक्नुलाई सरकार युवाको पक्षमा छैन भन्ने तथ्य प्रमाणित हुने बताए । उनले युवा नीति नभएको अवस्थामा कसरी युवाहरु सक्षम हुन सक्छन् भनेर मन्त्री भण्डारीलाई प्रश्न गरेका थिए ।

कार्यक्रममा सहभागिहरुले अन्य प्रदेशको तुलनामा कर्णालीमा बालबिवाह धेरै रहेकाले यसलाई घटाउन प्रदेश सरकारले विशेष कार्यक्रम नै ल्याउनु पर्नेमा जोड दिएका थिए । युवाहरुको प्रश्नमा जवाफ दिदै मन्त्री भण्डारीले प्रदेशमा तत्काल युवा नीति ल्याउने बताए । प्रदेश सरकारको आन्तरिक आम्दानी कमजोर हुँदा चाहेजस्तो काम गर्न नसकेपनि आफ्ना प्रयासहरु भने निरन्तर हुने उनले बताए । उनले आन्तरिक स्रोत कमजोरीका कारण पनि संघीय सरकारले दिएको बजेटका आधारमा नीति बनाउनुपर्ने बाध्यकारी अवस्थालाई प्रस्तुत गरे ।

यौनिक तथा लैंगिक अल्पसंख्यक, दृष्टिविहीन अपांगता लगायतका लक्षित वर्गका व्यक्तिहरुका लागि प्रादेशिक शिक्षा नीतिबाट उचित व्यवस्था हुने अपेक्षा मन्त्री भण्डारीको थियो । त्यसका लागि तत्कालै प्रदेश सरकारले नीति ल्याउने तयारी रहेको उनले बताए । युवामा पनि आफ्नै ठाउँमा केही गर्छु भन्ने हुटहुटी हुनुपर्ने उल्लेख गर्दै यसमा आफू मन्त्री नभएपनि सघाउन तयार रहेको भण्डारीको भनाई थियो ।

तपाईको प्रतिक्रिया