सुर्खेत । कुपोषण अन्त्यका लागि कर्णाली प्रदेशस्तरीय इनफ अभियानको घोषणा गरिएको छ । बुधबार वीरेन्द्रनगरमा आयोजित एक कार्यक्रमका बीच मुख्यमन्त्री यामलाल कँडेलले अभियानको शुभारम्भ गरेका हुन् ।
अभियानको सुभारम्भ गर्दै मुख्यमन्त्री कँडेलले कर्णालीमा कुपोषण अन्त्यलाई साझा अभियान बनाउन जरुरी रहेको बताए । कँडेलले कुनै समय दरबारलाई पोषिला र मूल्यावन खाद्यान्न कोशेली पठाउने कर्णाली पछिल्लो समय कुपोषणयुक्त अवस्थामा आइपुगेको परिस्थिलाई बदल्न जरुरी रहेको बताए ।
कँडेलले कर्णालीमा निजि क्षेत्र तथा गैरसरकारी संस्थाहरुलाई सरकारसँग हातेमालो गर्दै काम गर्न आग्रह गरे । विशेष गरी कर्णालीलाई बेस बनाएर काम गर्ने गैरसरकारी संस्थाहरुले नतिजामुखी काम गर्न नसकेको उल्लेख गर्दै आफूखुशी काम नगर्न चेतावनीसमेत दिए । विकास साझेदारका नीति र उद्देश्य अनुसार प्रदेश सरकारसँग समन्वय गरेर अगाडि बढे सतप्रतिशत सहयोग गर्ने उनले बताए ।
कर्णालीमा सरकारी कार्यालयभन्दा गैरसरकारी संस्थाहरु धेरै रहेको उल्लेख गर्दै ति संस्थाको काम र उद्देश्य अनुसार कर्णालीको अवस्था परिवर्तन हुन नसकेका प्रति गम्भिर समिक्षा हुन जरुरी रहेको कँडेलले बताए । ‘कर्णालीको वास्तविक अवस्था यहाँका नागरिकले प्रत्यक्ष अनुभुति गरेमात्रै परिवर्तन हुन्छ,’ कँडेलले भने, ‘दातालाई रिपोटिङ्ग गरेर कर्णालीको अवस्था परिवर्तन हुँदैन ।
आउनुहोस् सँगै मिलेर काम गरौं । तपाईहरुका नीति तथा उद्देश्यहरु राम्रा छन् तर, एक्लाएक्लै हिँड्दा कर्णालीको अवस्था फेरिदैन ।’ वल्र्ड भिजन इन्टरनेशनल नेपाल, सामुदायिक रेडियो प्रसारक संघ (अकोराब), किर्डाक नेपाल, सामाजिक सेवा केन्द्र नेपाल र पाँचतारा युवा संरक्षक मञ्चको संयुक्त आयोजनामा अभियानको घोषणा गरिएको हो ।
अभियान अन्तर्गत जुम्ला, जाजरकोट र दैलेख गरी कर्णालीका ४३ वडामा वल्ड भिजनले कुपोषण न्यूनिकरणका लागि काम गरिरहेको जनाइएको छ ।
नेपालीरैबार । २०८१ श्रावण ३१, बिहीबार