बिक्री प्रतिनिधिको हकका लागि एकजुट हुनपर्छ : अध्यक्ष खड्का

सुर्खेत । नेपाल बजार बिक्री प्रतिनिधि संघ कर्णाली प्रदेश इकाई कमिटी सुर्खेतका अध्यक्ष विवेक खड्काले विभिन्न क्षेत्रहरुमा कार्यरत बजार बिक्री प्रतिनिधि श्रमिकहरुको पेशागत हक, हित, अधिकार र रोजगारीको सुरक्षा लागि एकजुट हुनुपर्नेमा जोड दिइएका छन् ।

शुक्रबार नेपाल बजार बिक्री प्रतिनिधि संघ कर्णाली प्रदेश इकाई कमिटी सुर्खेतको आयोजनामा भएको भेटघाट कार्यक्रममा खड्काले नेपाल अधिराज्यभर विभिन्न क्षेत्रमा कार्यरत बजार विक्री प्रतिनिधिहरुबीच भाइचारा सु–सम्बन्ध कायम हुनुपर्नेमा जोड दिए ।

व्यवसायिक एकता र आपसी समझदारीको विकास गर्न प्रतिनिधि सदस्यहरु बीच भावनात्मक सम्पर्क, सहयोग र समझदारी कायम गराउँदै सामाजिक सेवाका साथै बजार बिक्री प्रतिनिधि बीच हुनसक्ने सम्पूर्ण भेदभावको विरुद्ध एकतावद्ध भई सामाना गर्न आफ्नो हकहितको सुरक्षा गर्न संघको स्थापना गरिएको उनले बताए ।

यस्तै, संघका केन्द्रीय सदस्य प्रदिप रिमालले गैर राजनैतिक ट्रेड यूनियनका रुपमा रहेको संघले श्रम बजारमा कार्यरत बजार बिक्री प्रतिनिधि श्रमिकहरुको जीवनस्तरमा सुधार गर्दै उनीहरुको हक, हित र अधिकारको रक्षा गर्ने, रोजगारी सुरक्षाको ग्यारेन्टीका साथै सामाजिक दायित्वप्रति उत्तरदायी बनाउने र जिम्मेवार नागरिकको भूमिका निर्वाह गरिरहेको बताए ।

संघको कर्णाली प्रदेश इकाई सुर्खेतका सचिव जगतबहादुर विष्टले राष्ट्रियता तथा जनजीविकाका निमित्त संघर्ष गर्ने अन्य संघ, संगठन, व्यक्ति, सामाजिक संस्था तथा परिवर्तनको आन्दोलनसँग समान धारण राख्ने अन्य संघ संगठन तथा सस्थाहरुसँग मित्रतापूर्ण र सहयोगी सम्बन्ध कायम गर्न संघ स्थापना भएको बताए । कार्यक्रममा विभिन्न कम्पनीमा बिक्री प्रतिनिधिका रुपमा कार्यरत संघका सदस्यहरुको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया