कर्णाली प्रदेश सभा बैठकमा यामलाल सबैभन्दा धेरै उपस्थित, राजिवबिक्रम कम उपस्थित

सुर्खेत । गत आर्थिक वर्षमा कर्णाली प्रदेश सभाका ४९ वटा बैठक बसेकोमा ती सबै बैठकमा उपस्थित प्रदेश सभा सदस्य भने एक जनामात्र छन् । प्रदेश सभाले उपलब्ध गराएको विवरण अनुसार ०८० साउन महिनादेखि ०८१ असारसम्म ४९ वटा बैठक बस्दा प्रदेश सभा सदस्यको उपस्थिति निराशाजनक देखिन्छ । जनताका समस्या उठान गर्नेदेखि लिएर कानुन निर्माणको दायित्व बोकेका प्रदेश सदस्यले प्रदेश सभालाई नै महत्त्व नदिएको प्रदेश सभाको हाजिरी रेकर्डले देखाउँछ ।

४९ मध्ये सबैभन्दा कम बैठकमा सहभागिता जनाउनेमा अहिलेका आर्थिक मामिला तथा योजना मन्त्री राजीवविक्रम शाह, राष्ट्रि«य प्रजातन्त्र पार्टी (राप्रपा)की सन्तोषी शाही छन् । शाहले वर्षभरि जम्मा २० वटा बैठकमा मात्रै आफ्नो उपस्थिति जनाएका छन् । मन्त्री हुनुअघि उनी प्रायः काठमाडौँमा हुने गर्दथे । यद्यपि शाहले भत्ता, पारिश्रमिक तथा सेवा, सुविधा भने पूरा लिइरहेका छन् ।

प्रदेश राजधानी वीरेन्द्रनगरमै घर भए पनि राप्रपा प्रदेश सदस्य शाहीको प्राथमिकतामा प्रदेश सभा परेको देखिन्न । उनी वर्षभरि जम्मा ३० वटा बैठकमा मात्र उपस्थित भएकी छन् । यस्तै पूर्वमुख्यमन्त्री एवं माओवादी संसदीय दलका नेता राजकुमार शर्मा, एमाले प्रदेश सभा सदस्य तथा अहिलेका भूमि, व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनोदकुमार शाह, माओवादी प्रदेश सभा सदस्य भीम प्रकाश शर्मा, कांग्रेस प्रदेश सभा सदस्य कृष्णकुमार बिसी ३६ वटा बैठकमा सहभागी भएका छन् । माओवादी दलका नेता शर्मा भने मुख्यमन्त्री भएको बेलामा प्रदेश सभा बैठकमा कम उपस्थित भएका हुन् ।

यस्तै कांग्रेस प्रदेश सभा सदस्य जानकी सिंह पनि बैठकमा कम उपस्थित हुने गरेकी छन् । वीरेन्द्रनगरमै घर भए पनि उनी प्रदेश सभा बैठकमा कम उपस्थित हुने गरेकी छन् । सिंह ३७ वटा बैठकमा मात्रै उपस्थित छिन् ।

एमाले प्रदेश सभा सदस्यसमेत रहेका अहिलेका भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री शेरबहादुर बुढा र माओवादी प्रदेश सभा सदस्य उर्मिला विश्वकर्मा समान ३८ वटा बैठकमा सहभागी छन् भने नेकपा एकीकृत समाजवादीका प्रदेश सभा सदस्य कल्याणी खड्का ३९ बैठकमा उपस्थित भएको प्रदेश सभा सचिवालयले जनाएको छ ।

निलम्बित कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाही १५ वटा बैठकमा सहभागी छन् । उनी निलम्बनमा परेसँगै ०८० चैत अन्तिम सातापछिका प्रदेश सभा बैठकमा सहभागी छैनन् । कांग्रेस प्रदेश सभा सदस्य सुरेश अधिकारी, माओवादी प्रदेश सभा सदस्य विन्दमान विष्ट ४०, माओवादी प्रदेश सभा सदस्य मंगल शाही ४१, प्रदेश सभा सदस्य महेन्द्र केसी र पुर्णबहादुर खत्री ४२ वटा बैठकमा उपस्थित छन् ।

अहिलेका सामाजिक विकासमन्त्री घनश्याम भण्डारी, प्रदेश सभा सदस्य खड्गबहादुर पोख्रेल, इन्द्राकुमारी शाही, कलबहादुर हमाल ४३, जीतबहादुर मल्ल, तुलसा मल्ल, दक्षिणा शाही, देबेन्द्रबहादुर शाही, विजया बुढा ४४ बैठकमा उपस्थित भएका छन् । कांग्रेसका प्रमुख सचेतक हिक्मतबहादुर विष्ट, बलिमाया बुढा, लक्ष्मी सुनार ४५ वटा बैठकमा उपस्थित छन् ।

यस्तै जुम्कित लामा कार्की, माओवादी प्रमुख सचेतक कृष्णबहादुर जिसी, वीरबहादुर शाही ४६ वटा बैठमा सहभागी छन् भने दुर्गबहादुर रावत, उपसभामुख यशोदा न्यौपाने, रणसिं परियार ४७ बैठकमा सहभागी छन् । ४८ वटा बैठकमा सहभागी हुनेमा माओवादी प्रदेश सभा सदस्य मिलन खड्का रोक्का, एमाले प्रमुख सचेतक टेकराज पछाई र गमता विक छन् ।

४९ वटै अर्थात् सबै बैठकमा उपस्थित हुनेमा अहिलेका मुख्यमन्त्री यामलाल कँडेल छन् । गत वर्ष ४० सदस्यीय कर्णाली प्रदेश सभाका सदस्यहरूको बैठक भत्तामा मात्रै १७ लाख २१ हजार रुपैयाँ सकिएको छ भने कर्मचारीसहितको बैठक भत्तामा २० लाखभन्दा बढी रकम सकिएको छ । प्रति बैठक प्रदेश सभा सदस्यहरूले एक हजारमा १५ प्रतिशत कर काट्दा ८५० भत्ता पाउँछन् । साथै पारिश्रमिक, सेवा, सुविधा लगायतमा ५ करोड ६४ लाख ६२ हजार रुपैयाँ खर्च भएको छ । ‘कतिपय अवस्थामा यता प्रदेश सभा बैठक बसिरहेको हुन्छ तर, प्रदेश सभा सदस्यहरू कुनै एनजीओ, आइएनजीओको कार्यक्रममा सहभागी हुन गइरहेका हुन्छन् ।

तपाईको प्रतिक्रिया