सुर्खेत । गत फागुनमा भएको महासमिति हुँदै केन्द्रीय समिति बैठकसम्म आइपुगेको कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको प्रस्ताव संशोधन गर्न दबाब परेको छ ।
मुख्यगरी महामन्त्री थापाको सांगठनिक प्रस्तावमा उल्लेख चुनावी गठबन्धन र १५ औं महाधिवेशनको मिति तथा शर्माको समसामयिक प्रस्तावमा रहेको नेताहरूको बहिर्गमन नीतिको विषय सच्याउन दबाब परेको हो ।
पार्टी संस्थापनको चाहनाविपरीत दुवै प्रस्तावमा यीसहितका विवादित विषय आएपछि साउन २३ गतेदेखि ५ दिन बैठक चलाएर ७ भदौसम्मका लागि स्थगित गरिएको थियो ।
महामन्त्रीद्वयको प्रस्ताव संशोधन नभई पास नहुने भएपछि बैठक स्थगित भएको हो । यसैले यी विवादित विषय संशोधन गर्नुपर्ने दबाब महामन्त्रीद्वयलाई परेको हो ।
५ दिनसम्म बैठक चले पनि महामन्त्रीहरूको प्रस्तावलाई लिएर नेताहरू पक्षरविपक्षमा लागेपछि बैठक नै स्थगित गर्नुपरेको थियो । यसैले यी बीचका दिनमा महामन्त्रीहरूको प्रस्तावमा सहमति जुटाएर पास गर्ने तयारी भएको केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
‘कांग्रेस प्रजातान्त्रिक पार्टी हो । केही फरक मत आउन सक्छन्, आउँछन् । तर, यी सधैं विवादकै बीच रहँदैनन् । नेताहरूले मिलाउने प्रयत्न गरिरहनुभएको छ,’ पौडेलले भने, ‘७ गतेको बैठकअगाडि नै मिलाउने प्रयत्न हुनेछ । नेताहरू लागिराख्नुभएको छ ।’
मुख्यगरी सभापतिनिकटका प्रवक्ता डा। प्रकाशशरण महत, परराष्ट्र मन्त्री आरजु राणा देउवा, रामहरि खतिवडा, राजीव ढुंगानासहितका नेताले महामन्त्रीहरूले हचुवाको भरमा ताली खाने गरी प्रस्ताव ल्याएको भन्दै केन्द्रीय समिति बैठकमा आलोचना गरेका थिए । तर, गगन निकट स्रोत चुनावी गठबन्धन चाहिँदैन भन्नेमा पार्टी पुगिसकेकाले यसैलाई बहाना बनाउन नहुने बताउँछ ।
‘गठबन्धन कसलाई चाहिएको रहेछ रु गठबन्धनको प्रयास कसरी असफल भयो भन्ने माओवादीसँगको सम्बन्ध र उतारचढाव हेर्दा पनि थाहा हुन्छ,’ थापानिकट ती नेताले भने, ‘यसैले महासमितिको निर्णयलाई अलपत्र पारेर त्यही गठबन्धनको कुरा झिकेर तनाव सिर्जना गर्नुहुँदैन भन्नेमा हामी छौं ।’
विधानअनुसार ४ वर्ष पुगेपछि २०८२ मंसिरमा महाधिवेशन गर्नुपर्ने विषय पनि आपत्तिजनक नभएको ती नेता बताउँछन् । ‘महाधिवेशन सार्नुपर्ने गरी प्राकृतिक विपत्ति, महामारी वा संकटकाल केही पनि छैन । यसैले विधानअनुसार २०८२ मंसिरभित्र महाधिवेशन गर्नुपर्छ भन्ने भाषालाई लिएर केको आपत्ति रु’ ती नेता भन्छन्, ‘२०६२र६३ मा महाधिवेशन गर्न सक्ने पार्टीले संकटकाल लागेको जस्तो गरेर महाधिवेशन पछाडि सार्ने किन रु’
सभापति शेरबहादुर देउवाले आफू सत्तामा रहँदा महाधिवेशन र चुनाव गराउन खोजेको हो भने त्यो पार्टीलाई डुबाउने स्वार्थी प्रयास ठहरिने गगन पक्षको दाबी छ ।
‘विधानले दिएको ४ वर्ष र दुईपटकमा थप्न पाउने एक वर्ष गर्दा २०८३ मंसिरभित्र महाधिवेशन गर्नैपर्छ । होइन, यसमा संविधानले दिएको अर्को ६ महिना पनि लिने हो भने धेरै ढिला गर्दा पनि २०८४ को वैशाख जेठभन्दा उता सार्न सकिँदैन । तर, २०८४ वैशाखतिर नै स्थानीय तहको चुनावमा जानुपर्छ । त्योभन्दा अगाडि नै हामी गुटगत आधारमा वडा अधिवेशन, पालिका अधिवेशनमा जुट्दा हाम्रो चुनावी नतिजा के होला रु’
एमालेको अहिलेदेखिको मिसन ८४ को तयारी, माओवादी, नयाँ दलहरूसहितको चुनौतीका बीच कांग्रेस आन्तरिक अधिवेशनलगत्तै चुनावमा गए शर्मनाक हार बेहोर्न तयार हुनुपर्ने तर्क थापासहितका नेताहरूको छ । त्यसैले २०८२ मा महाधिवेशन गर्ने विषयलाई प्राथमिकतामा राखेको उनीहरूले बताएका छन् ।
केही भाषिक विषय मिलाउन तयार भए पनि महामन्त्री थापा संस्थापनले चाहेजसरी प्रस्ताव बदल्न तयार नभएको नेताहरू बताउँछन् । अर्का महामन्त्री शर्मालाई पनि पार्टीमा कसैले नरुचाएको नेताहरूको ‘एक्जिट पोलिसी’को विषय मिलाउनुपर्ने दबाब छ ।
‘एक्जिट पोलिसीको तर्कअनुसार राष्ट्रपतिका लागि कार्यकाल हुन्छ भने प्रधानमन्त्री र मन्त्रीका लागि पनि तोकैं भन्ने महामन्त्रीको प्रस्ताव नराम्रो होइन,’ कांग्रेसका एक केन्द्रीय सदस्य भन्छन्, ‘तर, विश्वजीको प्रस्तावले सभापति, शेखर पक्ष, अर्का महामन्त्री थपासहित सबै गुटलाई अप्ठ्यारो पारेको छ । यो कसैले मान्दैनन् । उहाँको प्रस्तावबाट यो विषय हट्नैपर्ने देखिन्छ ।’
केन्द्रीय समितिको बैठक ७ भदौमा बस्नुअगाडि पदाधिकारी तहको बैठकमा मुख्य विवादित विषयमा विवाद मिलाउने भनेर छलफल भइरहेको छ ।
के–केमा हो मुख्य विवाद ?
महामन्त्री थापाले चुनावी गठबन्धन नगर्ने र २०८२ मै महाधिवेशन गर्नेगरी घोषणा गर्नुपर्ने विषय प्रस्तावमा उल्लेख गरेका छन् । तत्कालीन राजनीतिको आवश्यकताको आधारमा गरिएको र रणनीतिक कुरालाई लेख्न नहुने पक्षमा संस्थापन पक्ष रहेको छ ।
त्यस्तै, अर्का महामन्त्री शर्माले राष्ट्रपति, प्रधानमन्त्री, सभापति, मन्त्री र सांसदका लागि १, २, ३ र ४ पटकको प्रस्तावलाई बैठकले अनुमोदन गर्नुपर्ने अडान लिएपछि समस्या आएको हो । यो प्रस्ताव पास भए पार्टी सभापति देउवा अब प्रधानमन्त्री र सभापति हुन पाउने छैनन् । अन्य धेरै नेतालाई मन्त्री र सांसद बन्ने बाटो बन्द हुनेछ ।
यतिमात्रै होइन, शर्माको प्रस्ताव हुबहु पास हुने स्थिति आए गगन थापालाई अब सांसदमा उठ्ने बाटो बन्द हुनेछ, किनकि उनी चारपटक सांसद भइसकेका छन् ।
लोकान्तरको सहयोगमा प्रकाशित गरिएको
नेपालीरैबार । २०८१ भाद्र ५, बुधबार