क्रिकेट संघहरुलाई सक्रिय बनाउन वार्षिक साधारणसभा अनिवार्य : काेषाध्यक्ष खड्का

सुर्खेत । नेपाल क्रिकेट संघका केन्द्रीय कोषाध्यक्ष पदमबहादुर खड्काले जिल्ला क्रिकेट संघहरुलाई सक्रिय बनाउन वार्षिक साधारणसभा अनिवार्य गरिएको बताएका छन् । उनले ४५ वटै जिल्ला संघलाई वार्षिक साधारणसभा गर्न निर्देशन दिइएको बताए ।


कोषाध्यक्ष खड्काले तोकिएको समयमा वार्षिक साधारणसभा गर्ने जिल्लालाई प्रोत्सहान स्वरुप थप ५० हजार रुपैयाँ दिने निर्णय गरिएको बताए । ‘कार्यालय सञ्चालनका लागि अहिले संघले जिल्लाहरुलाई वार्षिक एक लाख रुपैयाँ दिँदै आएको छ,’ उनले भने, ‘समयमै वार्षिक साधारणसभा गर्ने जिल्लालाई थप ५० हजार रुपैयाँ दिने निर्णय भएको छ ।’

कोषाध्यक्ष खड्काले कर्णालीमा पछिल्लो समय क्रिकेटको विकास हुँदै गएको र क्रिकेट खेलप्रति आकर्षण बढ्दै गएको बताउँदै क्रिकेटका गतिविधिहरु बढाउनुपर्ने बताए । उनले सुर्खेत जिल्लामा दुई सुविधासम्पन्न क्रिकेट मैदानहरु तयार भएको बताउँदै त्यसको उपयोग गर्नेतर्फ केन्द्रीत हुनुपर्ने बताए ।

साधारणसभामा आर्थिक प्रतिवेदन पारित गरिएको थियो भने वार्षिक कार्ययोजना बनाउन नरेशसिं थापाको संयोजकत्वमा तीन सदस्यीय समिति बनाइएको छ । समितिले एक महिनाभित्र संघको वार्षिक क्यालेन्डर अनुसार जिल्लाले गर्ने गतिविधिहरु समेटेर कार्ययोजना बनाउने छ । जिल्ला अध्यक्ष श्रीधर केसीको अध्यक्षतामा भएको साधाणसभामा कर्णाली प्रदेश क्रिकेट संघका कोषाध्यक्ष सूर्यविक्रम थापा ‘विक्रम’, नरेशसिं थापालगायतले बोलेका थिए ।

तपाईको प्रतिक्रिया