किन घट्दै छ राउटेको जनसङ्ख्या?

सुर्खेत । राउटे समुदायकी एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा ६५ वर्षीय मनिषा शाही छन् । उनको सोमबार मृत्यु भएको हो ।

राउटे परियोजनामार्फत राउटे बस्तीमा कार्यरत शिक्षक लालबहादुर खत्रीका अनुसार अहिले राउटे दैलेखको गुराँस गाउँपालिका–१, मैन खोलामा बस्दै आएका छन् ।

दमको बिरामी र त्यसैमा चिसोका कारण मनिषाको मृत्यु भएको खत्रीले बताए । योसँगै राउटे समुदायको जनसङ्ख्या अब १३५ मा झरेको छ ।

किन घटिरहेको छ राउटेको जनसङ्ख्या ?

दक्षिण एसियाकै लोपन्मुख समुदाय हो राउटे । पछिल्लो समय राउटेको जनसङ्ख्या निरन्तर घटिरहेको छ । ०८० कार्तिकमा राउटे समुदायका महामुखिया ६६ वर्षीय महिनबहादुर शाहीको मृत्यु पश्चात राउटेको सङ्ख्या १४१ थियो । यो बिचमा राउटे समुदायका ६ जनाको विभिन्न कारण ज्यान गएको छ । सोमबार मनिषाको मृत्यु भएसँगै राउटेको सङ्ख्या घटेर १३५ मा आइपुगेको छ ।

यस्तै २०७५ असार महिनादेखि ०८१ भाद्रसम्म अर्थात सोमबारसम्म यो समुदायका ४२ जनाको मृत्यु भएको छ भने ३१ जनाको जन्म भएको छ । मृत्यु हुनेमा अधिकांश वृद्ध र बालबालिका छन् ।

शिक्षक खत्रीका अनुसार राउटेमा मृत्युदर बढ्नुको पहिलो कारण मदिरा मोह हो । साथै उनीहरू औषधि उपचारमा खासै विश्वास गर्दैनन् भने पोषणयुक्त खाना नहुनु, बालबच्चाको हेरचाह नहुनु, बिरामीको हेरचाह नहुनु, भगवानको भरोसामा लागेर उपचार नगर्नु लगायतका कारण राउटे समुदायमा मृत्युदर बढिरहेको उनले बताए ।

राउटे समुदायकी ६९ वर्षीया दुनी शाहीले १४ सन्तान जन्माइन् । पति महिनबहादुरको मृत्युपछि यतिबेला उनी एक्ली छन् । उनका सबै सन्तान मरिसके । अधिकांश जन्मदै मर्दै गए भने दुई वटाले मात्रै विवाह गरेका थिए ।

दुई वर्ष अघि उनका जेठा छोरा नारायणको जलेर मृत्यु भएको थियो भने र चार वर्षअघि अर्को छोरा शिवराजको उच्च रक्तचापको कारण मृत्यु भएको थियो । शिक्षक खत्रीका अनुसार बालबच्चाको खासै हेरचाह नहुँदा सानैमा मृत्यु हुने गरेको छ । जन्मदर कम भएको र मृत्युदर बढी भएकाले जनसङ्ख्या घट्दै गइरहेको उनलेबताए ।

‘जन्मदर एकदमै न्यून छ । समुदायमा अहिले एकल महिला धेरै छन्,’ उनले भने, ‘एकल महिलाले दोस्रो बिहे गर्दैनन् । यौवन उमेरका युवाहरू केटी नहुँदा अविवाहित छन् भने कोही विधुवा छन् ।’ अहिले १५ वर्षदेखि ८० वर्ष उमेरसम्मका महिला विधुवा छन् । यस्तै तीन जना एकल पुरुष छन् । यो समुदायभित्र रास्कोटी, कलेल र सोमवंशी छन् ।

तपाईको प्रतिक्रिया