मुख्यमन्त्री ज्यू ! सुर्खेत विमानस्थल विस्तारको काम कहिले अघि बढ्छ ?

सुर्खेत । निकै चर्चामा रहेको सुर्खेत विमानस्थल विस्तारको विषय अहिले सेलाए जस्तै भएको छ । कुनैबेला अहिलेका मुख्यमन्त्री यामलाल कँडेल जसरी हुन्छ यही विमानस्थल विस्तार गर्नुपर्छ भन्दै निकै जोडबल गरिरहेका थिए । उनी र सुर्खेत क्षेत्र नं.–२ बाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने सांसद हृदयराम थानी केन्द्रसम्मै पुगेर हारगुहार गरिरहेका थिए । तर कँडेल मुख्यमन्त्री बनेपछि भने सेलाएको देखिन्छ । नेतृत्वमा आएपछि विमानस्थलबारे खासै कँडेलले चासो नदिएको चर्चा हुने गरेको छ ।

यो विमानस्थलको विषयले एक पटक सुर्खेतको राजनीतिमै तरङ्ग ल्यायो—जतिबेला भेरीगंगाको रामघाटमा बन्ने नयाँ विमानस्थलको वातावरणीय प्रभाव मूल्याङ्कनका क्षेत्र निर्धारण प्रतिवेदन तथा कार्यसूचीमा नयाँ विमानस्थल बनेर सञ्चालनमा आएको खण्डमा वर्तमान विमानस्थललाई वन क्षेत्रको रुपका विकास गर्ने भनेर एक पत्र बाहिर आयो ।

नयाँ विमानस्थलको प्रक्रिया सुर्खेत निर्वाचन क्षेत्र नं.–१ का सांसद तथा कांग्रेस नेता पुर्णबहादुर खड्काको पहलमा पुर्वी सुर्खेतमा अघि बढेको हो । यदी नयाँ विमानस्थल पुर्वी क्षेत्रमा बन्यो र अहिलेको विमानस्थललाई वन क्षेत्रका रुपमा प्रयोग गर्दा वीरेन्द्रनगर कमजोर हुन्छ । कुनै बेला विमानस्थल विस्तार कार्यका असहयोग गरेका कँडेलले उक्त पत्र बाहिर आएपछि अहिलेकोलाई नै विस्तार गर्नुपर्छ भनेर लागिपरे ।

वर्तमान विमानस्थलको उत्तरतर्फको धावनमार्ग एक हजार दुई सय ५५ मिटरको छ । धावनमार्ग साँधुरो हुँदा ठुला जहाज अवतरणमा समस्या छ । तत्कालीन मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बसेको बैठकले उक्त धावनमार्ग थप ३०० विस्तार गर्नुपर्ने निर्णय गरेको थियो ।

सोही अनुसार सम्झौता भएरपनि जग्गा रोक्काको प्रक्रिया समेत अघि बढीसकेको थियो । यद्यपि जीवनबहादुर शाही मुख्यमन्त्री भएर आएपछि स्थानीयको भनाइ अनुसार नै विस्तारको च्याप्टर ‘क्लोज’ गरिदिए । तीन सय मिटर विस्तार गर्दा वीरेन्द्रनगर नगरपालिका १०, ११ र १२ वडाका करिब ९०० घरधुरी, हजारौँ विद्यार्थी रहेको अमरज्योति विद्यालय प्रभावित हुनेछन् । उक्त विद्यालयको अध्यक्ष एमाले नेता पुर्ण पौडेल छन् ।

उक्त क्षेत्रमा प्रायः एमालेको प्रभाव बढी छ । त्यो बेला प्रतिपक्षमा रहेका कँडेलले सहयोग नगर्दा नै विस्तार कार्य रोकिएको तत्कालीन दुई मुख्यमन्त्रीको भनाइ छ । कँडेलले विस्तार कार्यको प्रक्रिया अघि बढ्दा पटक–पटक जनतालाई भेला गराएर छलफल समेत गर्ने गरेका थिए । यतिसम्मकि जग्गा रोक्का प्रक्रिया अघि बढीसक्दा वीरेन्द्रनगर नगरपालिकाले नै वैकल्पिक विमानस्थल खोज्नुपर्ने तर्कसहितको निर्णय गरेको थियो ।

जनताको प्रतिनिधित्व गर्ने भन्दै ०७७ माघ ५ गते नगरपालिकाले प्रदेशको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय र केन्द्रको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई पत्र नै लेख्यो । धावनमार्ग विस्तारको सम्बन्धमा सो क्षेत्रका स्थानीय बासिन्दाबाट विस्तार कार्य अघि नबढाउन अनुरोध भै आएको सम्बन्धमा सो क्षेत्रमा विमानस्थल विस्तारमा कठिनाइ देखिएकाले सुर्खेत जिल्लाको अन्य नयाँ वैकल्पिक स्थानमा विमानस्थलको खोजी गरी निर्माण गर्ने व्यवस्था हुन प्रदेश सरकार तथा संस्कृति, पर्यटन, नागरिक उड्डयन मन्त्रालयमा अनुरोध गर्ने निर्णय नगरपालिकाले गरेको थियो ।

त्यो बेला वीरेन्द्रनगर नगरपालिका, स्थानीय जनता र उक्त क्षेत्रका प्रदेश सभा सदस्य (त्यो बेला) रहेका कँडेलले सहयोग नगर्दा विस्तार कार्य रोकिएको थियो । नयाँ विमानस्थलको अवधारणा अघि बढेपछि भने कँडेलसहित वीरेन्द्रनगरका सरोकारवालाहरु झस्किएर यही विमानस्थललाई विस्तार गर्नुपर्छ भनेर भन्न थाले । गत पुसमा वीरेन्द्रनगर नगरपालिकाले विमानस्थलबारे सर्बदलिय बैठक नै बसाल्यो । कँडेल समेत सहभागी बैठकले विभिन्न ६ वटा निर्णय ग¥यो ।

जसमा हाल सञ्चालन भईरहेको हवाई सेवालाई सुरक्षित तथा भरपर्दो बनाउन नगरी नहुने क्षेत्रको विस्तार तथा आवश्यक भौतिक पूर्वाधार निर्माण गर्न प्रदेश सरकार मार्फत संघीय सरकारसँग माग गर्ने, सञ्चालन भईरहेको हवाई सेवालाई सुरक्षित तथा भरपर्दो बनाउन सुर्खेत विमानस्थल विस्तार गर्दा अधिग्रहण गरिने जग्गा र भौतिक संरचनाको उचित मुआब्जा तथा चलनचल्तीको मूल्यमा स्थानीय वासीहरुलाई उपलब्ध गराउने गरी नीति बनाउन प्रदेश सरकार मार्फत संघीय सरकारसँग माग गर्ने, कर्णाली प्रदेशको नमुनाको रुपमा रहेको विध्यालय श्री अमर ज्योती नमुना माद्यामिक विध्यालयमा हजारौं विद्यार्थी अध्ययनरत भएको अवस्था र उक्त विद्यालय विमानस्थलको सिमानाको निकट छ, सुर्खेत विमानस्थलको विस्तार कार्यलाई सहज र छिटो छरितो गर्नका लागि उपयुक्त स्थानमा तत्काल स्थानान्तरण गर्न योजना र कार्यक्रम सहित पहलकदमी लिन प्रदेश सरकार सँग समझौता गर्ने लगायतका निर्णय गरेको थियो । तर उक्त निर्णय अहिले केवल निर्णयमा समिति बनेका छन् ।

अहिले नगरको प्रमुख एमालेकै मोहनमाया ढकाल र मुख्यमन्त्री सोही क्षेत्रका प्रदेश सांसद समेत रहेका कँडेल हुँदापनि विस्तारको कार्य अघि बढ्न सकेको छैन । चालु आर्थिक वर्षको बजेटमा विस्तार गरिने भनेर राखिएको छ । बजेटको बुँदा नम्बर ७४ मा भनिएको छ, ‘संघीय सरकारसँगको सहकार्यमा विमानस्थल विस्तार तथा स्तोरन्नति गर्न आवाश्यक बजेट व्यवस्था गरेको छु ।’ तर बजेट अंश भने खुलाइएको छैन ।

सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री सुरेश अधिकारीले विमानस्थल विस्तार गर्ने विषयमा छलफल भइरहेको बताए । ‘विमानस्थलको विस्तार हुनुपर्छ भनेर मुख्यमन्त्री, हामी विभागीय मन्त्रीहरु बसेर केही दिनअघि मात्रै छलफल भएको छ,’उनले भने, ‘अर्को विकल्प नभएसम्म यसलाई नै विस्तार गर्नुपर्छ भन्ने छ । यसमा बुद्ध र श्री एयरले उडान भरिरहेका छन् । क्षमता विकास, स्तोरन्नति गर्नुपर्छ भनेर छलफल भइरहेको छ ।’

तर त्यसको लागि पहिला केन्द्रबाट सहयोग हुनुपर्ने उनको भनाइ छ । वीरेन्द्रनगर नगरपालिकाका नगरप्रमुख मोहनमाया ढकालले आफुहरु अहिलेपनि विस्तारको कुरामा दृढ रहेको बताइन् । तर कँडेल मुख्यमन्त्री भएपछि अहिले स्थानीय तह र प्रदेश सरकारबिच छलफल भने नभएको उनको भनाइ छ ।

‘विस्तार कार्यमा नगरपालिका असहयोगी छ भन्ने थियो, हाम्रो पुर्ण समर्थन छ, यदि प्रदेश र केन्द्र सरकारले उचित मुआब्जाको व्यवस्थापन गरिदिने हो भने तल ‘साइड क्लियर’ गर्ने काम हामी सहयोग गर्छौँ भनेर प्रतिबद्धता जनाएका छौँ,’उनले भनिन्, ‘माथिल्ला दुई सरकारले काम अघि बढाएको खण्डमा स्थानीय समस्या समाधान गर्न हामी तयार नै छौँ ।’ नयाँ विमानस्थल बन्ने कुरामा आफुहरु बाधक नबन्ने र वर्तमान अवस्थामा नभई नहुने विमानस्थल यही भएकाले विस्तार गर्नुपर्छ भन्ने पक्षमा नै आफुहरु अग्रसर भएको ढकालको भनाइ छ ।

सुर्खेतबाट प्रकाशित प्रदेश रैबार साप्ताहिकमा समाचार प्रकाशित भएको छ ।

 

तपाईको प्रतिक्रिया