प्रदेश राजधानीमा सुरक्षा चुनौती, न सडक बत्ती, न सिसी क्यामेरा

सुर्खेत । वीरेन्द्रनगरका सडक बत्ती र प्रयाप्त मात्रामा सिसी क्यामेरा नहुँदा सुरक्षा चुनौती बढेको छ । उज्यालो नहुँदा रातको समयमा हुने अपराधिक गतिविधिको अनुसन्धान गर्नेदेखि सुरक्षाको चुनौती बढेको हो । प्रहरीका अनुसार सडक बत्ती नहुँदा कुनै घटना घटेपनि अनुसन्धान गर्न र खोजतलास गर्न निकै समस्या हुने गरेको छ ।

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर उपत्यका । 

केही समयअघि विद्युत् महसुल नतिरेको भन्दै विद्युत् प्राधिकरणले अधिकांश सडक बत्तीका लाइन काटिदिएको छ भने कतिपय ठाउँका बत्ती नै उठाइदिएको छ । राजधानीभित्र करिब एक हजार भन्दा बढी सडक बत्ती थिए । प्राधिकरणले लाइन काटेपछि अहिले अधिकांश सडक बत्ती बन्द छन् ।

सडक बत्ती प्रयोग गरेवापत् नगरपालिकाले प्राधिकरणलाई करिब ५ करोड बराबर रकम तिनुपर्ने छ । अहिले केही मुख्य चोकमा हाईमास्क लाइट छ भने केही ठाउँहरुमा सोलार लाइट छ । नगरपालिकाको तथ्यांक अनुसार २४ वटा हाईमास्क र करिब दुई सयको हाराहारीमा सोलार लाइट छन् । सोलार लाइट विशेषगरी भित्री बजार तथा गल्लीहरुमा राखिएको छ ।
तर बर्खाको समयमा पानी पर्ने हुँदा सोलार लाइट चार्ज हुन पाउँदैनन् । जसका कारण अधिकांश बल्दैनन् । सडक बत्तीहरु नहुँदा प्रदेश राजधानी भएपनि वीरेन्द्रनगर रातको समयमा अन्धकारमय हुन्छ । साथै सुरक्षाको हिसाबले समेत चुनौती बढेको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी, प्रहरी निरीक्षक वीरेन्द्रवीर विश्वकर्मा बताउँछन् । उनी भन्छन्, ‘रातको समयमा बत्ती नहुँदा निकै समस्या भएको छ ।’

उज्यालो नहुँदा गल्लीहरु भएको ठाउँमा चोरी हुनसक्ने सम्भावना बढ्नुको साथै झै–झगडा, लुटपात भएको खण्डमा मान्छेको पहिचान गर्न गाह्रो हुने गरेको उनले बताए । प्राधिकरणले बत्ती हटाउँदा सिसी क्यामेरा राख्नुको खासै अर्थ नहुने उनको भनाइ छ ।

‘उज्यालो नभएपछि रातको समयमा कुनै अपराधिक घटना भएपछि खोजतलास गर्न निकै गाह्रो छ, पहिचानको समस्या हुन्छ, सिसी क्यामेराको ठाउँ–ठाउँको कनेक्सनमा समेत समस्या भएको छ,’उनले भने । अहिले वीरेन्द्रनगरमा ९२ वटा सिसी क्यामेरा छन् । यो प्रयाप्त होइन् तर, भएका पनि कतिपय नचल्ने अवस्थामा छन् । मर्मतका लागि नगरपालिकासँग खासै बजेट छैन । अर्कोतर्फ बत्ती हटाइँदा अहिले क्यामेराहरु बन्द भएको उनले बताए । ‘अहिले सबै काम प्रविधिबाट नै गर्नुपर्छ, बत्ती नहुँदा सडक दुर्घटनाको समेत जोखिम बढ्छ,’उनले भने, ‘सडक बत्तीका लागि विभिन्न निकायसँग समन्वय गर्दा पनि काम अघि बढ्न सकेको छैन ।’

वीरेन्द्रनगर नगरपालिकाको जिन्सी शाखाका प्रमुख खड्गबहादुर केसी सडक बत्ती जोड्नका लागि पहिला महसुल तिर्नुपर्ने बताउँछन् । महसुल नतिरे जोड्न नमिल्ले अवस्था छ । त्यो कार्यपालिकाले निर्णय गर्नुपर्ने भएकाले सडक बत्ती जोड्न समस्या भएको बताए । सडक बत्तीको महसुल अहिलेसम्म नगरपालिकाले कहिल्यै तिरेको छैन । ‘केन्द्रबाट नै सरकारले राजश्व मिलान गथ्र्यो,तर अहिले रकम नतिरेपछि लाइन काट्नुका साथै बत्तीहरु समेत उठाइदिएको छ,’नगरपालिकाका वरिष्ठ अधिकृत प्रकाश पौडेल भन्छन् ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद जैसी सडक बत्ती जोड्नका लागि टेण्डरको प्रक्रिया अघि बढाउने तयारी भइरहेको बताउँछन् । विशेषगरी मुख्य सडक धुलियाबिटदेखि बांगेसिमलसम्मको सडकमा सडक बत्ती जोडिने छ ।
त्यसका लागि करिब ६० लाख बजेट छुट्याइएको उनले बताए । ‘अहिले पिपिरामा केही मात्रामा सडक बत्ती छ, मुख्य सडक उज्यालो होस् भन्ने उद्देश्यसहित काम अघि बढीरहेको छ,’उनले भने, ‘मर्मतका लागि पनि पहल भइरहेको छ ।’ यदि लक्ष्य अनुसार काम अघि बढेको खण्डमा दसैंभन्दा पहिला नै सडक बत्ती जोड्ने तयारी नगरपालिकाको छ । तर बक्यौताको विषयमा निर्णय नहुँदा समस्या छ । यदि दसैंसम्म पनि सडक बत्ती नबलेको खण्डमा चाडपर्वको समयमा बजारमा सुरक्षा चुनौती थप बढ्ने प्रहरी बताउँछ ।

सुर्खेतबाट प्रकाशित प्रदेश रैबार साप्ताहिकमा समाचार प्रकाशित भएको छ ।

तपाईको प्रतिक्रिया