कर्णाली प्रदेशमा किन मङ्सिर महिनामै धेरैले आत्महत्या गरे ?

सुर्खेत । कर्णाली प्रदेशमा मङ्सिर महिनामा बढी आत्महत्या हुने गरेको पाइएको छ । प्रदेश प्रहरीको तथ्याङ्कले १२ महिनामध्ये मङ्सिर महिनामा सबैभन्दा धेरै आत्महत्या हुने गरेको उल्लेख छ । सामाजिक विकास मन्त्रालयले आत्महत्या रोकथाम दिवसका अवसरमा आयोजना गरेको कार्यक्रममा आर्थिक वर्ष २०८०/८१ मा कर्णाली प्रदेशमा कुल ३२४ जनाले आत्महत्या गरेकोमा मङ्सिर महिनामा सबैभन्दा धेरै ३७ जनाले आत्महत्या गरेको जनाइएको छ ।

कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार मङ्सिरमा बढी आत्महत्या भएको छ । मङ्सिरपछि कात्तिक महिनामा ३४ जनाले आत्महत्या गरेका छन् । चैतमा ३३ जना, फागुनमा ३० जना, वैशाख र असारमा २९/२९ जना, जेठमा २७ जना, असोजमा २६ जना, भदौ र पुसमा २२ जना, साउनमा २१ जना र सबैभन्दा कम माघमा १३ जनाले आत्महत्या गरेको प्रदेश प्रहरी कार्यालयका प्रहरी निरीक्षक धर्मेन्द्र खड्काले बताए। चाडपर्व सकिएपछि र विवाहको मौसमले गर्दा बढी आर्थिक बोझ, मानसिक तनावका कारण मङ्सिरमा आत्महत्या बढी हुने गरेको प्रहरीको अनुमान छ ।

यसै गरी शनिबार र बुधबारको दिनमा बढी आत्महत्या हुने गरेको छ । सो आवमा सात बारमध्ये सबैभन्दा धेरै शनिबार र बुधबार समान ५२ जनाले आत्महत्या गरेका छन् । शनिबारपछि मङ्गलबार र आइतबार ४९र४९ जनाले, सोमबार ४५ जनाले, शुक्रबार ३९ जनाले र बिहीबार ३८ जनाले आत्महत्या गरेको प्रहरीको तथ्याङ्कमा उल्लेख छ । पेसाका रूपमा कृषि पेसामा आबद्ध भएकाले बढी आत्महत्या गरेका छन् । कृषि पेसामा आबद्ध भएका १८२ जनाले आत्महत्या गरेका छन् । त्यसपछि विद्यार्थी ७२ जना, बेरोजगार भएका व्यक्ति ४७ जना र व्यापारी २१ जनाले आत्महत्या गरेको प्रहरी निरीक्षक खड्काले जनाए ।

कर्णालीमा १० जिल्लामध्ये सबैभन्दा धेरै सुर्खेत जिल्लामा आत्महत्या हुने गरेको छ । सुर्खेतमा ११२ जनाले आत्महत्या गरेका छन् । सुर्खेतपछि दैलेखमा ५९ जना, सल्यानमा ५४ जना, जाजरकोटमा ३० जना, जुम्ला र रुकुममा २६/२६ जना, कालीकोटमा १६ जनाले आत्महत्या गर्ने गरेको प्रहरीले जनाएको छ । हुम्ला र मुगुमा पाँचरपाँच जना र सबैभन्दा कम डोल्पामा दुई जनाले मात्र आत्महत्या गरेको पाइएको छ ।

साथै आत्महत्या गर्नेमा पुरुष र आत्महत्याको प्रयास गर्नेमा महिला बढी रहेका छन् । आव २०८०र८१ मा कुल ३२४ जनामा १४१ जना पुरुष र महिला ८८ जनाले आत्महत्या गरेका छन् । प्रहरी निरीक्षक खड्काले आत्महत्या गर्नेमा पुरुष नै बढी संलग्न भए पनि प्रयासमा महिला बढी रहेको पाइएको बताए। पुरुषले योजनाबद्ध रूपमा आत्महत्याको निर्णय गर्ने र तत्काल घटना भइहाल्ने गरेकोमा महिला भने मानसिक कोमलताले गर्दा प्रयासमा बढी संलग्न हुने गरेको पाइएको उनले जनाए । सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले परम्परागत संस्कार र परामर्शको अभावले आत्महत्या बढ्दै गएकोमा चिन्ता व्यक्त गरे । उनले आत्महत्या रोकथामका लागि सबै प्रयास संयुक्त रूपमा गर्नुपर्नेमा जोड दिँदै सकारात्मक सन्देश प्रवाह गर्न सबैलाई आह्वान गरे ।

कर्णाली प्रदेश अस्पतालका मानसिक रोग विशेषज्ञ डा. सुशील समदर्शीले मानसिक समस्याले गर्दा ९० प्रतिशत आत्महत्या हुने गरेकोमा उदासीपनलाई कम गराउन सके आत्महत्यामा पनि कमी ल्याउन सकिने बताउछन् । उनले दिगो विकास लक्ष्य २०३० मा नेपालमा प्रतिलाखमा आत्महत्या दर १६.५ बाट घटाएर ४.७ मा झार्नुपर्ने भएकाले त्यसका लागि साथी, विद्यालय, शिक्षक, समुदाय, सुरक्षाकर्मी र सञ्चारकर्मीहरूको ऐक्यबद्धता अनिवार्य भएको जनाए। सिएमसी नेपालका मनोविद् लक्ष्मण नाथले आत्महत्या गर्ने व्यक्तिले हठात् निर्णय नगर्ने र लामो समयदेखि योजना बनाउने हुँदा बेलैमा उनीहरूलाई परामर्श दिन सके बचाउन सकिने बताए । प्रदेश स्वास्थ्य सेवा निर्देशक डा। रविन खड्काले आत्महत्या रोकथामका लागि यस क्षेत्रमा लगानी बढाउन आग्रह गरे ।

तपाईको प्रतिक्रिया