प्रशान्ति बृद्धाश्रम सुर्खेतलाई नेपाली सेनाको निशुल्क स्वास्थ्य जाँचसँगै खाद्यान्न सहयाेग

सुर्खेत । असक्त तथा बेसहरा जेष्ठ नागरिकहरुको संरक्षण गर्दै आएको बृद्धाश्रमलाई नेपाली सेनाले निशुल्क स्वास्थ्य जाँचसँगै खाद्यान्न सहयोग गरेको छ । शनिबार नेपाली सेनाको उत्तर पश्चिम पृतना हेडक्वाटर तथा यस अन्तर्गतका युनिटबाट संकलित खाद्य सामाग्री राहतस्वरुप आश्रमलाई हस्तान्तरण गरिएको हो ।

उक्त उक्त सामाग्री उत्तर पश्चिम पृतना हेडक्वाटर सुर्खेतका पृतनापती उपरथीसेनानी अनुपजंग थापा र सैनिक श्रीमती संघका सल्लाहकार भावना राज्यलक्ष्मी थापाले अध्यक्ष बालकृष्ण श्रेष्ठलाई हस्तान्तरण गरेका हुन् । खाद्य सामाग्री हस्तारन्तरण पछि बोल्दै उपरथीसेनानी थापाले जेष्ठ नागरिकको संरक्षण र सम्वद्र्धनमा केही हदसम्म सहयोग पुगोस् भन्ने उद्देश्यले आश्रमलाई सहयोग गरेको बताए ।

हरेक सुख दुखमा नेपाली सेना साथमा रहेको उल्लेख गर्दै उनले भविष्यमा पनि सहयोगलाई निरन्तरता दिने बताए । सेनाले खाद्य बैंक स्थापना गरी मानवलाई आश्रय दिइरहेका विभिन्न सामाजिक संस्थालाई प्रत्येक युनिटले एक व्यक्तिका लागि आवश्यक पर्ने खाद्य सामाग्री व्यवस्थापन गरी हस्तान्तरण गर्दै आएको छ । सोही अनुरुप चामल, दाल, नुन, तेल, तरकारी, मसला, चियापत्ति, बिस्कुट लगायतका खाद्य सामाग्री आश्रमलाई हस्तान्तरण गरिएको थियो ।

यस्तै, सेनाले हरेक महिनाको अन्तिम शनिवार आश्रममा रहेका जेष्ठ नागरिकको निशुल्क स्वास्थ्य जाँच गर्ने कार्यतालिका अनुसार आश्रममा आश्रित २९ जना जेष्ठ नागरिकको स्वास्थ्य जाँच तथा औषधी वितरणसमेत गरेको छ । सेनाले गरेको स्वास्थ्य जाँचमा अधिकांशमा मानसिक समस्या, हाडजोर्नी दुख्ने लगायतका दीर्घ रोग देखा परेको छ । २०५४ सालमा स्थापना भएको आश्रमले विभिन्न कारणले समाज तथा परिवारबाट अलग भई कष्टकर जीवन बिताउन बाध्य २९ जना जेष्ठ नागरिकको पालन पोषणको काम गर्दै आएको छ ।

सन्तान नभएका, भएका पनि सम्पर्कमा नभएका, अंशवण्डाको मुद्दा तथा उमेरसँगै आउने शारीरिक अशक्तताले सिर्जित समस्याका कारण अधिकांश जेष्ठ नागरिक बृद्धाश्रमसम्म पुग्ने गरेको बृद्धाश्रमका अध्यक्ष बालकृष्ण श्रेष्ठ बताउछन् । घरपरिवारको साहारा नपाएपछि आश्रमको सम्पर्कमा आउने जेष्ठ नागरिकलाई परिवारसँगको परामर्शमा पुनः मिलन गराउने गरिएको उनले बताए ।

आश्रमको सञ्चालन तथा व्यवस्थापनमा सरकारको केही हदसम्म सहयोग भए पनि त्यो प¥याप्त भने छैन । यसमा राज्यका तीनै तहका सरकारले खासै ध्यान दिन सकेका छैनन् । आश्रम सञ्चालनका लागि एक करोड ३५ लाखको अक्षयकोष स्थापना गरिएको छ । सोही अक्षयकोषबाट प्राप्त हुने व्याज तथा विभिन्न सामाजिक संघसंस्थाको मुठ्ठीदानबाट आश्रम सञ्चालन गर्नुपर्ने बाध्यता रहेको छ ।

जसका लागि एक सय दुई जनाले अक्षयकोष स्थापना गरिदिएका छन् । यसका अलवा आश्रमले विभिन्न विद्यालयमा मुठ्ठी दान संकलनको अभियानमार्फत परिवारबाट विछोड भई कष्टकर जीवन बिताइरहेका जेष्ठ नागरिकलाई आश्रय दिइरहेको छ ।

तपाईको प्रतिक्रिया