भैरवस्थान सडक पत्रु भएपछी विद्यार्थी आन्दोलित, लिखित सहमति नगरे आन्दोलन जारी राख्ने

सुर्खेत। प्रदेश राजधानी सुर्खेत वीरेन्द्रनगरको गणेशचोक देखि भैरवस्थान हुँदै ढोडेखाली जोडने सडकमा दुई वर्ष देखि खाल्डाखुल्डी भएको र त्यसले दुर्घटना निम्त्याएको भन्दै विद्यार्थीहरुले आईतबार दिनभर सडकमा चक्काजाम गरेका छन् । जन नमूना माध्यमिक विद्यालय र भैरव माध्यमिक विद्यालयका विद्यार्थीहरुले सडकमा खाल्डाखुल्डी भएको र हिडेर विद्यालय आँउदा सवारी साधनले आफ्नो ड्रेसमा हिलो छ्याप्नुका साथै बारम्बार दुर्घटना घटाएको भन्दै आन्दोलन सुरु गरेका हुन ।

भैरव माध्यमिक विद्यालय अगाडी नै दुवै विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले दुई तर्फि सडक अवरुद्ध गरेका हुन । हामीले बारम्बार नगरप्रमुखलाई यो बाटो सुधार गरिदिन अनुरोध गरेका थियौं । यो बाटोमा हामी दैनिक रुपमा आवतजावत गरिरहन्छौं । प्रदेश अस्पताल जाने बाटो पनि यहि भएका कारण सवारी साधनको चाप यहाँ बढि छ । जन नमुना माविका विद्यार्थी नारायण नेपालले भने, विद्यालयमा ड्रेस लगाएर जानुपर्ने तर बाटोमा कहिले हिलोमा छ्यापिएर जानुपर्ने, कहिले दुर्घटनामा पर्नुपर्ने अवस्था आएको दुई वर्ष भइसकेको छ । सरकारले केहि गर्ला भनेर आश गरेपनि हालसम्म कुनै प्रगति भएन । त्यसैले हामी यो आन्दोलन गर्न बाध्य भएका हौं ।

अर्का विद्यार्थी विपना खनालले पनि मुख्यमन्त्री यामलाल कंडेल वा नगरप्रमुख मोहनमाया ढकाल आएर बाटो निर्माणबारे लिखित सहमति गरे मात्रै आफूहरु आन्दोलनबाट पछि हटने जनाइन् । नगरप्रमूख वा मुख्यमन्त्री एक जना आएर हामीसँग एक साता होस या दुई साता होस, लिखित सहमति गरेर बाटो बनाउने प्रतिबद्धता जनाउनुपर्यो । खनालले भनिन, त्यो नभएसम्म यो आन्दोलन जारी रहन्छ ।

यो सडक मुख्यमन्त्री यामलाल कंडेलकै वडामा पर्छ भने नगरउपप्रमूख निलकण्ठ खनालले यहि वडाबाट प्रतिनिधित्व गर्छन् । यता नगर प्रमुख मोहनमाया ढकालले भने वर्खायाममा पानी परिरहेको हुनाले सडक मर्मत गर्ने ढिला भएको बताइन् । उनले अब तत्काल सडक मर्मत गर्ने योजना रहेको जानकारी दिइन् । प्रमुख ढकाललाई विद्यार्थीहरुले लिखीत सहमति गर्न फोन गरेरे बोलाएका थिए । तर ढकाल काम विषेशले काठमाण्डौँ गएको हुनाले उपस्थित हुन नसक्ने बताइन् ।

तपाईको प्रतिक्रिया